बिहानीको चिसो हावाले झ्यालको सेतो पर्दा सुस्तरी हल्लाइरहेको छ । मानौं कुनै पुरानो कथा बिसाउन खोजिरहेको छ ऊ । कोठाभित्र सन्नाटा छ । तर त्यो सन्नाटामा एक किसिमको आवाज छ । ऊ टेबुल अगाडि शान्त बसेकी छ । उसको सामु राखिएको चियाको कपबाट हल्का वाफ उठिरहेको छ । तर त्यो वाफभन्दा बाक्लो उसले बोकेको अनुभूतिहरू हुन् । अनेक प्रश्नहरू, जुन समयले थन्काइदिएका थिए । आज फेरि तिनिहरुले मनको ढोका ढकढक्याइरहेका छन् ।
आज ऊ लेख्ने मनस्थितिमा छ । तर यो लेखाइ केवल शब्दहरूको सिलसिला होइन । यो समयको यथार्थ चित्र हो । ऊ भन्छे, “आज म आफूलाई लेख्न लागेकी छु । आफ्ना अनुभवहरू, आफ्नै समाजको घाउहरू, जुन मलाई छुने बित्तिकै पोल्छन् ।”
ऊ लेख्छे, मेरो गाउँ । साँच्चै, कति सुन्दर थियो । अँ, त्यही पुरानो गाउँ, जहाँ बिहानको घाम पहाडका टाकुराबाट मुस्कुराउँथ्यो । सिरसिर बतास लहरिएर आउँथ्र्यो, मानौं हरेक रूख, हरेक फूलको स्वास भर्नु छ उसलाई । खोलाहरू यति कञ्चन थिए मानौ सबै थकाई पखालेर लाने सामथ्र्य राख्छन् । खेतमा गँहुँ र मकैहरू बताससँगै नाच्थे, पखेरामा प्याउलीहरू फुल्दथे । यस्तो लाग्छ गाउँ आफैँ गीत बनेर गुन्जीन्थ्यो । तर त्यो गीत भित्र कतै बेसुर थियो । त्यहाँ लुकेको थियो एउटा क्रूर सत्य । त्यो गाउँ पहाडले मात्र घेरिएको थिएन । विभेदका अदृश्य पर्खालहरूले पनि घेरिएको थियो । बालापनको उज्यालो सपना र एउटा निष्कलंक आँखा लिएर म समाज रूपान्तरणको यात्रामा निस्केकी थिएँ । जहाँ हरेक विभेदका भित्ताहरू भत्काउने अठोट थिएँ । त्यहाँ असमानताको गहिरो घाउमा समानताको मलहम लगाइने आशा थियो । स्कुले झोलाको डोरी साटिएर क्रान्तिको झण्डा समाएँ । अक्षरको फूलबारी छाडेर विद्रोहको काँडे बाटो रोजेँ ।
कसैको कर गरेको होइन त्यो मेरो आफ्नै निर्णय थियो । अक्षरभन्दा अघि विद्रोहलाई प्राथमिकता दिने, व्यक्तिगत जीवनभन्दा अघि सामूहिक पीडालाई गम्भीरतापूर्वक बुझ्ने । मैले चिनेको देश, थाहा पाएको समाज, र देखेको अन्याय म भित्रै गडेर बसेको थियो । त्यो घाउलाई मलम लगाउन मैले कलमभन्दा अघि झण्डा उठाएँकि थिएँ । समय बग्दै गयो । परिवर्तनका रत्नहरू एकपछि अर्को साटिंदै आए । गणतन्त्र आयो—लामो प्रतीक्षापछिको उज्यालो किरण जस्तै । पुराना संरचनाहरू ढले, नयाँको बीज रोपिए । त्यो महासमरको यात्राले मलाई राजधानीको रंगीन सडकसम्म ल्यायो ।
राजधानी—जहाँ सपनाहरू ठोक्किन्थे, आदर्शहरू परिक्षणमा पर्थे, र क्रान्तिका गाथाहरू शहरका पर्खालहरूमा कुर्लिएका हुन्थे । त्यहाँ मैले जीवनका स्वर्णीम दिनहरू देखे । कहिले जुलुसको अग्रपङ्क्तिमा, कहिले बहसको चक्रवातभित्र, कहिले अस्तित्वमै प्रश्न उठाउने क्षणमा म आफैंलाई पुनःपुनः खडा गरिरहेँ । विद्यार्थी आन्दोलन मेरो विद्यालय बन्यो, पार्टी राजनीति मेरो प्रयोगशाला ।
आज ठीक एक वर्ष बितेछ । त्यो दिन, जुन दिनबाट मैले सारा राजनीतिक जीनलाई तिलान्जली दिएकी थिएँ । हो साच्चै म फेरीएकी थिएँ, आकारले होइन, आत्माले । शब्दहरूले पक्रन नसक्ने, भावनाले मात्र बुझिने त्यो घडी...साच्चै सन्दर थियो । आज पनि म सम्झन्छु एक महिनाको त्यो अस्पताल बसाइ । जहाँ पीडाले शरीरलाई च्यापेको थियो । तर आत्मा भने पहिलो पटक आफैँसँग गहिरो संवादमा थियो ।
म विरामी परेपछि मात्रै, केही यथार्थहरू नाङ्गो भएर आँखा अगाडि आए । जसलाई ‘सम्बन्ध’ ठानेकी थिएँ साथ, समर्पण र संवेदनाको नाममा सजीव भएको विश्वास गरेकी थिएँ ती सबै सम्बन्धहरू शरीर कमजोर परेपछि एक–एक गर्दै खस्न थाले... झैँ झरेका झारजस्ता, आफ्नै जरा चिर्दै गएको अनुभूति भयो । जब अस्पतालकोे ओछ्यानमो थिएँ । न नारा न थिए, न झण्डा, न भीड, न अभिनन्दन । ती राजनीति सँगालेर गुथिएका हातहरू, जो अघिसम्म मेरै काँध थामेर अगाडि बढ्ने सपना बुन्थे, अचानक फुर्सदविहीन भए, अनि म बुझ्न थालेँ कुन हात साँच्चिकै समर्पित थियो र कुन केवल साथको अभिनय । समय थोरै थियो, तर शिक्षाले दशक बराबरको असर छोड्यो । स्वार्थी सम्बन्धहरूको रंग झट्टै उड्दो रहेछ र राजनीतिक सम्बन्धहरू त कागजका फुल जस्ता रहेछन् सुगन्धविहीन, जीवनविहीन । त्यस घडी, म आफैँलाई सोध्न थालेँ— “कसरी यत्रो समय मैले अरूका हाँसोमा आफ्नो जीवन टाँसे ं?” र त्यही एकान्तमा, मेरो आत्माले सानो स्वरमा उत्तर दियो,“जबसम्म तिमी आफैँ बलियो छैनौ, तिमी बाँचेको सम्बन्धको जग पनि कमजोर हुन्छ ।”
त्यो दिन म एक्लै थिएँ, तर मैले पहिलोपटक बलियो महसुस गरेँ । किनभने अब मलाई भ्रम थिएन न सम्बन्धको, न सहाराको, न नेतृत्वको । मैले मेरो शक्ति खोजेँ, अरूको काँध होइन, मेरो टुटेको हिम्मतको टुक्रामा । र यहीँबाट मैले नयाँ यात्रा सुरु गरेँ सम्बन्ध बनाउने हैन, आफैँ बन्ने यात्रा । अब मलाई डर छैन सम्बन्धहरूसँग टाढा हुन, किनभने जुन सम्बन्ध पीडाको घडीमा छायाँ बन्न सक्दैन, त्यो सम्बन्ध उज्यालोमा देखिएको मात्र छाया हो । त्यो दिन बिहान अस्पतालको झ्यालबाट परेको उज्यालो अझै पनि मेरो सम्झनामा उतिकै तेज छ । न त त्यो कुनै विशेष बिहान थियो, न त त्यो घाम फरक थियो । तर त्यो उज्यालो मेरो जीवनको साँच्चिकै पहिलो बिहान थियो । किनभने त्यो दिनदेखि म अर्की भएकी थिएँ । सिरानीमुनि चिसो रिपोर्ट थियो छातीभरि भारी सासहरू । अनि आँखाभरि अज्ञात भविष्यको कुहिरो । तर ती सबको बिचमा म थिएँ । कुनै सहानुभूतिको अपेक्षा बिना, केवल एक गहिरो खोजीमा—“म को हुँ ?”
कति साथीहरू आए, कतिपय दिनहुँ, कतिपय एकपटक मात्र । तर सबैले केही न केही छोडेर गए । कसैले मौनता, कसैले गहिरो प्रेम । र म, त्यो सेतो ओढ्नेभित्र बाँधिएर, दिनदिनै पीडाभित्र सौन्दर्य खोज्ने कोसिसमा थिएँ । शरीरको पिडा चिच्याइरहेको थियो, तर मन सुत्केरी पीडाझैँ नयाँ जन्मको तयारीमा थियो । त्यो बिस्तारामा पल्टिदा पल्टिदा, मैले देखेँ—जीवन न त दौड हो, न त प्रतिस्पर्धा । जीवन त विराम हो जहाँ तपाईं आफैँसँग बस्न सिक्नुछ । र त्यसै विराममा, मैले आफूलाई भेटेँ पहिलो पटक न कुनै नारा, न कुनै आन्दोलन, न कुनै सिद्धान्तको चस्माबाट । मात्र आफ्नै अन्तर हृदयबाट । आफ्नै आत्माको ऐनामा ।
हो, म थाकेकी थिएँ, शारीरिक हैन, बरु ती वर्षौंको निरन्तर युद्धको थकाइ थियो । हाम्रो समाजमा बलियो हुनु एउटा अनिवार्यता हो । तर त्यही पीडाले मलाई सिकायो कि कहिले काँही कमजोर हुन पनि साहस चाहिन्छ । लाग्छ, त्यो अस्पताल बसाईले मलाई विमारी निको मात्र बनाएको होइन पुनः जन्म दिएको हो । त्यसपछि म पहिले जस्ती रहेकी छैन । न माया बुझ्ने तरिका उही छ, न एक्लोपन सहने ढाँचा । अब म मुस्कानभित्र पीडाको सन्देश पढ्न सक्छु, अनि मौनताभित्र प्रेमको पूर्णता सुन्न सक्छु ।
आज म ती दिनहरू सम्झिन्छु । ती आँशुका थोपाहरू, सेतो झ्यालबाट देखिएको निलो आकाश । अस्पतालको झन्झट लाग्ने सन्नाटा । त्यो गन्ध जुन मिर्मिरे बिहानमा नशामा झैँ चढ्थ्यो । तर ती सबै स्मृतिभित्र, त्यो एउटा सत्य उज्यालो बनेर बाँचेको छ । मैले आफूलाई त्यही पीडाको गर्भबाट जन्म दिएकी थिएँ । जिन्दगीको वास्तविक अर्थ मलाई औषधिले होइन, पीडाले बुझाएको थियो । म फेरि उठेकी थिएँ । त्यही मुस्कान लिएर, तर अब त्यो मुस्कानभित्र एउटा इतिहास छ । एउटा केटीको आत्माले आफूलाई चिन्न गरेको साहसिक यात्राको इतिहास ।
प्रिय साथीहरू तपाईंहरू जो मेरो जीवनका सुगन्धित मौसम बन्नु भयो । तपाईहरु दुखका कुहिरामा पनि प्रेमको रङ्ग घोल्न जान्नुहुन्थ्यो । हेर्नुस्न अझै मैले तपाईंहरूको गुन तिर्न सकेको छैन । तपाईहरुलाई भेट्न सम्म आउन सकेको छैन । तर यो मनले उडान भर्न छाडेको छैन, उड्दैछ, अझै । यहीँबाट तपाईंको आकाशतिर, मायाँको पखेटा फैलाएर । तपाईंहरूलाई सम्झेर कतिपटक मन भीरबाट खसेको छ । सम्झनाको त्यही पंखमा समातिएर, मैले आफूलाई फेरि सम्हालेकी छु । यहाँबाटै मायाँ वर्षाएकी छु् शब्दहरूमा, मौनतामा, प्रार्थनामा, अनि निद्रामा पनि तपाईहरु सपना बनेर घरीघरी आउनु भएको छ ।
अनि त्यो एउटा विशेष प्रिय । न्यानो हाँसो दिने फुच्चे डाक्टर । जसले मलाई केवल औषधिले मात्र हैन, मायाँका सितल हातहरूले स्पर्श गरेका थिए । तपाईंको हातको हल्का स्पर्शले मेरो आधा दुख हराएको थियो, र मनले पहिलोपटक यो सोचेको थिए, “शायद उपचार शरीरको मात्र होइन, आत्माको पनि हुँदो रहेछ ।” प्रिय, म तपाईंलाई भन्न सक्दीन त्यो दिन कहिले आउँछ भनेर । तर तपाईं मेरो जीवनको सबैभन्दा न्यानो सम्झना बन्नु भएको छ । शब्द अपूरो थियो, समय अधुरो, तर मन भरिएको थियो मायाँको छालले । यहाँ म छु, अझैपनि त्यही कुना, त्यही टाढाको कोठामा । तर म चुपचाप छैन म निरन्तर तपाईंहरूलाई सम्झिरहेकी छु, र प्रतीक्षा गरिरहेकी छु त्यो दिनको ।
जब म साँच्चै चरा बनेर आउनेछु, स्वतन्त्र आकाश चिरेर, तपाईंको आँगनमा । मेरो प्रेमले तपाईंको ओठमा शान्तिको मुस्कान ल्याउनेछ । हो, त्यो दिन पक्का आउनेछ । शायद आज होइन, शायद भोलिपनि होइन । कुनै दिन, एक चुपचाप साँझमा, वा उज्यालो बिहानमा जब तपाईं झ्याल खोलेर निलो आकाश हेर्नुहुन्छ । त्यहाँ म हुनेछु—पङ्ख फैलाएर, तपाईंको न्यानो मुटुभरि बस्न तयार । म आउँछु, प्रिय चरा बनेर, कविता बनेर, वा केवल एक न्यानो सास बनेर । तपाईंको हाँसोमा म हुनेछु, । तपाईंको मौनतामा म बगिरहनेछु । र फेरि, मायाँ वर्षाउनेछु यहीँबाट । अझ नजिकबाट ।
