काठमाडौं । काठमाडौं महानगरपालिकाको फोहोर बोक्ने २ सय भन्दा बढी गाडीलाई नुवाकोटका स्थानीय बासिन्दाले रोकेका छन् । काठमाडौबाट फोहोर बोकेर बञ्चरेडाँडा ल्यान्डफिल साइट जाँदैगरेका काठमाडौं महानगरपालिकाका ट्रक नुवाकोटका स्थानीय बासिन्दाले रोकेका हुन् । काठमाडौंबाट फोहोर बोकेर गएका करिब २ सय भन्दा बढी गाडीलाई स्थानीयले सडकमा ढुंगामुढा राखेर ककनी गाउँपालिका १ मा अवरोध गरेका हुन् । नुवाकोटका स्थानीयले काठमाडौंको बालाजुमा तरकारी बेच्न ल्याएको बेला काठमाडौं महानगरपालिकाको नगर प्रहरीले धरपकड गरेको विरोध स्वरुप नुवाकोटका स्थानीयले फोहोरको गाडी रोकेको बताईएको छ । काठमाडौंबाट फोहोर बोकेर गएका सबै गाडी रोकिएको र दुई पक्षबीच वार्ता भइरहेको जानकारी महानगरका वातावरण विभाग प्रमुखले दिएकी छन् । काठमाडौंबाट दैनिक २ सय भन्दा बढी फोहोरको ट्रक फोहोर व्यवस्थापनका लागि बञ्चरेडाँडा ल्यान्डफिल साइटमा जाने गर्दछ ।
