म असार र तिमी
-गीता खनाल
बटुल्दै छु म असार
चुसेर समुद्रकाे छाती
अनि निचाेरेर हिमालको अधर
र खाेजिरहेछु तिम्रो पाखुराकाे स्पर्श
यी अाली र भित्ताहरुमा
बाँझिएकाे मेरो छाती
पटपटी फुटेर चिरा परेपछि
भित्र कतै धरनमा दबिएका छन् अमूल्य माेती
निर्निमेष हेरिहेछु तिम्रो बाटाे
काला बादलसँग मागेर बर्षाकाे पानी
भरेर खेतका गराभरि
अनि खाेजिरहेछु तिम्रा पाइतालाकाे स्पर्श
तर, यसपटक पनि
नारिएनन् हलगाेरु
ताछिएनन् अाली र भित्ताहरु
अाएनन् राेपार बाउसेहरु
गुञ्जिएनन् असारे भाका
तिम्रा बुढा बाले
सेतो हिमाल शिरमा बाेकेर
निभ्न लागेकाे बल पाखुरीमा थाेरै साँचेर
राखेको बीउ यसपटक पनि उसैगरी सुक्दैछ ब्याडमा
तिमी भने बेचिरहेछाै याैवनकाे बल रेगिस्तानमा
बालुवाका कणहरु सँग साटिरहेछाै श्रम अनि सीप
पिईरहेछाै नुनिला अाँसुका ढिक्काहरु अाफैसँग लुकाएर
तिम्रो बाध्यता ठानाै या रहर
अमृत पिहिरहेछाै कि जहर
बनाएर अाफ्नै देशको माटो निर्जर ।
(Geeta Khanal को फेसवुक वालबाट साभार )
