Comments Add Comment

मन्त्रिपरिषदको सोमबारको बैठकले किन गर्‍यो यस्तो निर्णय ?

काठमाण्डौ । सरकारले जापान सरकारबाट छात्रवृत्ति परियोजनाको लागि प्राप्त हुने जापानी येन ५७२ मिलियन (करिव ५३ करोड ७६ लाख रुपैयाँ ) बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । यस्तै नेपालका निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालनका लागि इजाजत प्रदान गर्ने सम्बन्धी कार्यविधि, २०७५ खारेज गर्ने पनि निर्णय भएको छ ।

सोमबारको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय मंगलबार सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सार्वजनिक गर्दै विज्ञापन बोर्डको रिक्त अध्यक्ष पदमा लक्ष्मण हुमागाईंलाई नियुक्त गरेको पनि जानकारी दिए । यस्तै नेपाल कृषि अनुसन्धान परिषद्को कार्यकारी निर्देशक पदमा वरिष्ठ वैज्ञानिक डा. कृष्णप्रसाद तिम्सीनालाई नियुक्त गर्ने निर्णय भएको छ ।

सरकारले राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदसमक्ष पेश गर्न स्वीकृति दिने, सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसदसमक्ष पेश स्वीकृति दिने, सार्वजनिक सेवा प्रशारण नियमावली, २०८२ स्वीकृत गर्ने जल तथा उर्जा आयोगको सचिवालय र अन्तर्गतका कार्यालयहरूको संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने, साथै, जलस्रोत अनुसन्धान तथा विकास केन्द्र खारेज गर्ने लगायतका निर्णय गरेको छ ।

बैठकले बिभिन्न मन्त्रालयका सचिवहरुलाई सरुवा पनि गरेको छ । सचिवहरु डा. रामप्रसाद घिमिरेलाई उद्योग तथा वाणिज्य मन्त्रालय, किरणराज शर्मालाई लोकसेवा आयोग, हरिप्रसाद मैनालीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, डिल्लिराम शर्मालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, दीपक काफ्लेलाई राष्ट्रपतिको कार्यालय, चुडामणि पौडेललाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, गोविन्दबहादुर कार्कीलाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, महादेव पन्थलाई राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोग, रघुराम विष्टलाई महालेखा नियन्त्रक कार्यालय र शोकान्त पौडेललाई मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय गण्डकी प्रदेशमा सरुवा गर्ने निर्णय गरेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ