काठमाडौँ । चन्द्रागिरि र धुनिवेशी नगरपालिकामा निर्माणाधीन नागढुंगा–सिस्नेखोला सुरुङ मार्गको निर्माण कार्य ठप्प भएको छ। निर्माण कार्य अन्तिम चरणमा पुग्दा स्थानीयको निरन्तरको अवरोधका कारण काम अघि बढ्न नसकेको हो।
स्थानीय बासिन्दाले आफ्ना मागहरू सम्बोधन नभएको भन्दै चैत ३ गतेदेखि सुरुङमार्गको काम अवरुद्ध गरेका हुन् । हाल काठमाडौँ र धादिङ दुवैतर्फ सुरुङमार्गको निर्माण रोकिएको छ।
सुरुङ मार्ग निर्माणका क्रममा अपनाइएको प्रविधिले खानेपानी मुहान सुक्न पुगेको, घर चर्किएको र जमिन भासिएको स्थानीयको गुनासो छ ।
प्रारम्भिक सहमतिअनुसार अत्याधुनिक टीकीएम प्रविधि प्रयोग गरिनुपर्नेमा सस्तो एवम् जोखिमयुक्त ‘डिलिङ एण्ड ब्लाष्टिङ’ प्रणाली प्रयोग गरिएपछि समस्या उत्पन्न भएको स्थानीयले बताएका छन् ।
यसअघि पटक–पटक अवरोध हुँदा पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागले समस्या समाधान गर्न चासो नदेखाएको उनीहरूले बताएका छन् ।
स्थानीय बासिन्दाहरूले प्रभावित क्षेत्रको खानेपानी समस्या समाधान गर्न माग गर्दै आन्दोलन गरेका छन्। खानेपानी आयोजना सञ्चालनको ग्यारेन्टी गर्नुपर्ने, चर्किएका घरहरूको उचित क्षतिपूर्ति दिनुपर्ने, सिँचाइको वैकल्पिक व्यवस्था मिलाइनुपर्ने, सुरुङ मार्गको पश्चिम पोर्टलमा बगेको प्राकृतिक पानीलाई प्रभावित क्षेत्रमा ल्याउने व्यवस्था गर्नुपर्ने, सुरुङ मार्गको कारण सिर्जित खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि आवश्यक योजनाहरू सञ्चालन गर्नुपर्ने, प्रभावित क्षेत्रका बासिन्दालाई योग्यता र क्षमताको आधारमा रोजगारीको अवसर दिनुपर्ने, खानेपानी आयोजनामा भएका अनियमितता छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने लगायत मागसहित आन्दोलन गरेका छन् ।
नागढुंगा सिस्नेखोला सुरुङ मार्ग प्रभावित क्षेत्र खानेपानी उपभोक्ता समितिका अध्यक्षले गोपी सुर्खेतीले भने, ‘हामीले धेरै पटक सरकारलाई हाम्रो समस्याबारे जानकारी गराइसक्यौँ, तर अहिलेसम्म ठोस कदम चालिएको छैन। हाम्रो पानीका प्राकृतिक स्रोत सुक्दै गएका छन्, घरहरू चर्केका छन्, तर सरकारले कानमा तेल हालेर बसेको छ। यदि छिटो समाधान नभए हामी अझ कडा आन्दोलनमा जान बाध्य हुनेछौँ।’
स्थानिय बासिन्दा रमेश तामाङ भन्छन्, ‘हाम्रो पिउने पानी नै छैन, खेतमा सिचाइको पानी छैन। सरकारले हाम्रो माग सम्बोधन नगरे हामी यो परियोजना चल्न दिन्नौं। विकास हाम्रो विनाशको कारण बन्नु हुँदैन ।’ अर्की स्थानीय निर्मला लामा भन्छिन्, ‘हामीले पहिले नै सरकारलाई सावधानी अपनाउन भनेका थियौँ, तर कसैले सुनेन। हामी हाम्रो अधिकारका लागि लडिरहेका छौं ।’
सम्बन्धित निकायको उदासीनता
यसअघि नै प्रभावित क्षेत्रका बासिन्दाले विभिन्न सरकारी निकायहरूसँग पटक–पटक छलफल गरे पनि ठोस कार्यान्वयन हुन नसकेको गुनासो छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मागहरू जायज रहेको निष्कर्ष निकाले पनि कार्यान्वयन प्रक्रिया अघि नबढ्दा स्थानीय आक्रोशित बनेका छन्।
नागढुंगा सिस्नेखोला सुरुङ मार्ग प्रभावित क्षेत्र खानेपानी उपभोक्ता समितिले तत्काल माग सम्बोधन नभए २०८१ साल चैत्र ३ गतेदेखि संघर्षका कार्यक्रमहरू अघि बढाउने चेतावनी दिएको थियो। आन्दोलन चर्किएमा यसको सम्पूर्ण जिम्मेवारी आयोजनापक्षले लिनुपर्ने स्थानीयको भनाइ छ।
सरकारको निष्क्रियताले बढ्दैछ आर्थिक भार
निर्माण कार्य ठप्प हुँदा सरकारले दैनिक झण्डै ५० लाख रुपैयाँ क्षतिपूर्ति व्यहोर्नुपर्ने स्थिति सिर्जना भएको छ। १९ दिनसम्मको हिसाब गर्दा यो रकम ९ करोड ५० लाख रुपैयाँ पुगिसकेको छ। यदि चाँडै समाधान ननिकालिए थप आर्थिक भार पर्ने निश्चित देखिन्छ।
स्थानीय आन्दोलनरत बासिन्दाले सम्बन्धित निकायहरूले आफ्ना माग सम्बोधन नगरेसम्म आन्दोलन नरोकिने बताएका छन्।
