काठमाण्डौं। अन्तर्राष्ट्रिय फुटबलमा लाओसले नेपाललाई पहिलो पटक पराजित गरेको छ।
यसअघि भएका पाँच भेटमा नेपालले ४ खेलमा जित निकाल्दा एक खेल बराबरीमा सकिएको थियो। तर, एसियन कप छनोटअन्तर्गत आज भएको खेलमा भने नेपाल लाओससँग २–१ ले स्तब्ध बन्यो।
२०१६ मा पहिलो पटक एकअर्काविरुद्ध भिडेका यी दुई टिमबीच ९ वर्षमा छैटौं पटक प्रतिस्पर्धा भएको थियो।
नेपाल आज घरेलु टोलीविरुद्ध उसकै मैदानमा हार भोग्न पुग्यो। छनोट चरणमा नेपालको यो लगातार दोस्रो हार हो।
लाओसको नेशनल स्टेडियममा नेपालविरूद्ध लाओसले १३औँ मिनेटमा नै अग्रता बनायो। उसका अनाउसोने छापान्याको हेड गोलमा परिणत भएको थियो।
पहिलो हाफमा १–० को अग्रता बनाएको लाओसले दोस्रो हाफमा अग्रता दोब्बर बनायो। ४९ औँ मिनेटमा पिटर फान्थाभोङ्गले लाओसको अग्रता दोब्बर बनाउँदा नेपाली टोली थप दबाबमा परेको थियो।
२–० पछि परेको नेपालले पेनाल्टीमार्फत ७१ औँ मिनेटमा १ गोल फर्काए पनि हार टार्न सकेन। मनीष डाँगीलाई लाओसका खेलाडीले डिबक्सभित्र फाउल गरेपछि पाएको पेनाल्टीलाई मनीषले नै गोलमा परिणत गरेका थिए।
यो खेलबाट नेपालको राष्ट्रिय टोलीमा सिर्जन गौतमले डेब्यु गरेका छन्। उनी योगेश गुरूङको स्थानमा दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए।
यसअघि नेपाल पहिलो खेलमा मलेसियासँग २–० ले हारेको थियो।
नेपाल सम्मिलित समूहमा लाओस, मलेसिया र भियतनाम रहेका छन्। वरियताका आधारमा भियतनाम र मलेसिया नेपालभन्दा बलियो प्रतिद्वन्द्वी हुन्।
समूहमा रहेका प्रत्येक टिमले होम एण्ड अवेको आधारमा कुल ६ खेल खेल्ने छन्। समूह विजेताले २०२७ मा साउदी अरेबियामा हुने १९ औँ एसियन कपमा स्थान बनाउने छन्।
