काठमाण्डौं। नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको २४ औं राष्ट्रिय महाधिवेशन आइतबारबाट सुरू हुँदैछ। जेठ २८ गतेसम्म चल्ने राष्ट्रिय महाधिवेशनको उद्घाटन प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन्।
आज बिहान ११ बजे त्रिवि स्मृति भवनमा महाधिवेशनको उद्घाटन गर्ने कार्यसूची रहेको अनेरास्ववियुका अध्यक्ष समिकुमार बडालले जानकारी दिए। बन्द सत्र पनि सोही हलमा हुनेछ।
उनकाअनुसार महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ। महाधिवेशनमा करिब १५ सय प्रतिनिधि सहभागी हुनेछन्। महाधिवेशनले अध्यक्ष, दुई उपाध्यक्ष, महासचिव चार सचिवसहित १५१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ।
३२ वर्षे उमेरहद लागेकाले वर्तमान १७ सदस्यीय पदाधिकारीमध्ये अधिकांश बिदा हुनेछन्। पाँच जना सचिवहरू प्रकाश पौडेल, दीपक धामी, डा। सुजन कडरिया, अञ्जना शिवाकोटी र आरती भण्डारी मात्रै ३२ वर्षमुनिका छन्।
