काठमाण्डौं। पहिलो सेमिफाइनलमा बंगलादेशसँग २–१ ले पराजित भएसँगै साफ यू–१९ च्याम्पियनसिपमा नेपालको यात्रा टुंगिएको छ । शुक्रबार भारतको अरुणाचल प्रदेशमा सम्पन्न खेलमा बंगलादेशलाई जित दिलाउन आसिकुर रहमान र कप्तान नज्मुल हुडा फैसलले गोल गरे । नेपालका सुजल ढंगोलले एक गोल फर्काए पनि नेपालको हार टार्न सकेनन् ।
खेलमा तीनै गोल दोस्रो हाफमा भएको हो । ७३औँ मिनेटमा आसिकुरको गोलमा बंगलादेशले अग्रता बनाएको थियो । त्यसको सात मिनेटपछि कप्तान फैसलले बंगलादेशको अग्रता दोब्बर बनाए। खेलको निर्धारित समय सकिन तीन मिनेट बाँकी रहँदा सुजनले एक गोल फर्काए पनि नेपालको हार टार्न सकेनन्।
योसँगै बंगलादेशले फाइनलमा स्थान बनाउँदा नेपाल भने प्रतियोगिताबाट बाहिरिएको छ । बंगलादेश प्रतियोगिताको साविक विजेता समेत हो ।
यसअघि नेपालले समूह चरणको खेलमा श्रीलंकालाई ५–० ले हराउँदा भारतसँग भने ४–० को हार बेहोरेको थियो ।
