काठमाण्डौ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र एशियाली विकास बैँक (एडिबी)का उपाध्यक्ष फातिमा यसमिनबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा भएको भेटमा ऊर्जा र सिँचाइ क्षेत्रमा एडिबीको सहयोगमा सञ्चालित आयोजनाको प्रगति र आगामी सहकार्यबारे छलफल भएको थियो ।
भेटमा मन्त्री खड्काले नेपालको ऊर्जा र सिँचाइ क्षेत्रको विकासमा एशियाली विकास बैँकले गरेको योगदानको स्मरण गरेका थिए । उनले आगामी दिनमा सरकारलाई एडिबीको निरन्तर सहयोग हुने आसा एवम् विश्वास व्यक्त गरे । उर्जामन्त्री खड्काले सरकारले ल्याएको ऊर्जा विकास मार्गचित्रलाई कार्यान्वयन गर्न विकास साझेदार निकायको महत्वपूर्ण भूमिका रहने भएकाले ऊर्जा क्षेत्रमा थप लगानीका लागि अनुरोध गरेका थिए ।
मन्त्री खड्काले एडिबीको लगानीमा निर्माण भएका आयोजनालाई निर्धारित समयमै सम्पन्न गर्न सरकार लागिपरेको र आयोजना निर्माणका क्रममा देखिएका समस्या एवम् चुनौतीलाई मन्त्रालयले चाँडो सम्बोधन गर्ने बताएका थिए। एडिबीले नेपालमा तनहुँ जलविद्युत् आयोजना, प्रसारण तथा वितरण प्रणाली सुदृढीकरण, बागमती नदी बेसिन सुधार, बाढी जोखिम व्यवस्थापन, यान्त्रिक सिँचाइ, नवप्रवर्तन तथा सिँचाइ आधुनिकीकरण प्रवद्र्धनलगायत उर्जा, जलस्रोत र सिंचाईको क्षेत्रमा काम गरिरहेको छ ।
भेटका अवसरमा एडिबीका उपाध्यक्ष फातिमा यसमिनले एडिबीको लगानीमा निर्माणाधीन आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न मन्त्री खड्कासमक्ष आग्रह गरिन् । बैठकमा दुधकोसी जलविद्युत् आयोजनामा लगानी गर्नेबारे समेत छलफल भएको थियो । यस्तै, अप्पर अरुण जलविद्युत आयोजना, महाकाली–३ सिँचाइ आयोजना, तल्लो सेती जलविद्युत् आयोजनामा एडिबीको लगानीको बारेमा समेत छलफल भएको थियो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्य, जलस्रोत तथा सिंचाई सचिव सरिता दवाडी, नेपालका लागि एसियाली विकास बैंक (एडिबी)का देशीय निर्देशक अर्नाउड काउकोइसलगायत मन्त्रालयका उच्च पदस्थ कर्मचारीको सहभागी थिए ।
