काठमाडौ । बुधबार साँझ बसेको मन्त्रिपरिषद् (क्याबिनेट) बैठकले उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेल संयोजकत्वमा गभर्नर सिफारिस समिति पुनर्गठन गरेको छ ।
समितिका एक सदस्य विश्व पौडेलले राजीनामा यसअघिको समितिलाई पुनर्गठन गरिएको हो । पौडेलको ठाउँमा अर्थविद् डा पोषराज पाण्डेलाई थप गरिएको छ । पुनर्गठन गरिएको समिति सदस्यमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारी र अर्थविद् डा. पोषराज पाण्डे रहेका सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए ।
गभर्नर छनोट सिफारिस समितिबाट विश्व पौडेलले राजीनामा दिएका थिए । नेपाली काँग्रेसले पौडेललाई आगामी गभर्नरको रुपमा अघि सारेपछि उनले राजीनामा दिएकोले उनकाे ठाउँमा पाण्डेलाई समिति सदस्यमा नियुक्त गरिएको हो ।
पूर्व गभर्नर विजयनाथ भट्टराईले पनि समिति सदस्यबाट राजीनामा दिएका थिए । समितिमा पूर्व गभर्नरका रूपमा भट्टराई र विज्ञ सदस्यका रूपमा विश्व पौडेल सदस्य रहेका थिए । एक महिनासम्म एउटा बैठकसमेत बस्न नसकेपछि भट्टराईले समितिबाट राजीनामा दिएका थिए।
मन्त्रिपरिषद्ले गत चैत ११ गते उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा सिफारिस समिति गठन गरेको थियो ।
