काठमाण्डौ । कक्षा १२ को प्रश्नपत्र आउट गर्न संलग्न व्यक्तिलाई थप अनुसन्धानको लागि पाँच दिनको म्याद थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट ५ दिनको म्याद थप भएको हो ।
राष्ट्रिय परीक्षा बोर्डको बैशाख २१ गतेबाट शुरु कक्षा १२को परीक्षाको बिहिबार होटल म्यानेजमेन्ट र बिजनेस म्याथमेटिक्सको प्रश्नपत्र काठमाण्डौको धुम्बाराहीस्थित साइपाल एकेडिमीबाट आउट भएको थियो ।
प्रश्नपत्र आउट गर्नमा प्रत्यक्ष संलग्न विद्यालयका प्रधानाध्यापक एवम् केन्द्राध्यक्ष गणेश जोशी (कञ्चनपुर), सहायक प्रधानाध्यापक एवम् सह केन्द्राध्यक्ष संज्ञा खतिवडा (काभ्रे), जीवनकुमार मडै (बैतडी) र रोशन श्रेष्ठ नुवाकोटको संलग्नताको अभियोगमा प्रहरीवृत्त महाराजगञ्ज प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धानको लागि हिरासतमा राखेकोमा शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौँले पाँच दिनको म्याद थप गरेको हो ।
'परीक्षाको मर्यादा भंग गरेकामा एवम् मर्यादा विपरित कार्य गरेकोले शिक्षा ऐन २०२८ को दफा १७ .१को क(च) अनुसार अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरिएको हो ।' जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता प्रहरी उपरिक्षक अपिलराज बोहराले १०१ खबरलाई बताए । श्रोतका अनुसार बिहिबार परीक्षा नभएका आफ्नै कक्षा १२को विद्यार्थीलाई प्रश्नपत्रको फोटो खिच्न लगाएर आफ्ना विद्यार्थीलाई समूहमा पठाउनलाई प्रधानाध्यापक र सहायक प्रधानाध्यापक आफै संलग्न भएको भेटिएको स्रोतले दाबी गरेको छ ।
दुईजना विद्यार्थीको नाम पनि यो प्रकरणमा जोडिएको छ, अनुसन्धानले पुष्टि भएमा उनीहरूको परीक्षा नै रद्ध हुनसक्ने बोर्डले जनाएको छ ।
'अपराधिले अपराधको प्रमाण छोड्छ' भनेजस्तै टेबुलको एक कागजमा शैपाल एकेडेमी लाइब्रेरी लेखिएको छाप पृष्ठभूमिमा भएकाले शैपाल एकेडेमीबाट नै प्रश्नपत्र आउट भएको यकिन गर्न सजिलो भएको श्रोतले जनायो ।
शिक्षा ऐन २०२८ को दफा १७ १ को (क) च अनुसार परीक्षाको मर्यादा विपरित कार्य गरेमा, गर्न लगाएमा वा सो कार्य गर्न सहयोग पुर्याएमा एक लाख सम्म नगद जरिवाना, ६ महिनासम्म कैद वा दुबै सजाय हुन सक्ने व्यस्था छ ।
