काठमाडौँ । भारतीय विमान सेवा कम्पनी स्पाइसजेट र एयर इन्डिया एक्सप्रेसले काठमाडौँका लागि नियमित उडान गर्ने भएका छन्। स्पाइसजेटले शनिबारदेखि नयाँदिल्ली-काठमाडौँ-नयाँ दिल्ली रुटमा दैनिक उडान थाल्ने र एयर इन्डिया एक्सप्रेसले आगामी जेठ १८ बाट बेंगलुरु-काठमाडौँ उडान गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले बताएको छ। मुम्बई-काठमाडौँ उडानको मिति भने कम्पनीले तय गरेको छैन। बोइङ ७३७-८०० एनजी विमान प्रयोग गर्ने स्पाइसजेटको उडान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान ९:५५ बजे अवतरण गर्ने र उक्त विमान बिहान १०:५५ बजे प्रस्थान गर्ने छ । कोभिड-१९ को महामारीका बेला काठमाडौँ उडान बन्द गरेको स्पाइसजेटले पुन सेवा सञ्चालन गर्न लागेको हो । प्राधिकरणका अनुसार एयर इन्डिया एक्सप्रेसको बेंगलुरु उडान बिहान ८:०५ बजे काठमाडौँ अवतरण गर्नेछ र ९:०५ बजे प्रस्थान गर्नेछ। त्यसैगरी मुम्बई उडान बेलुकी ५:०५ बजे काठमाडौं आइपुग्नेछ र ६ बजे प्रस्थान गर्नेछ। अब काठमाडौँमा नियमित उडान गर्ने भारतीय विमान कम्पनीको संख्या चार पुग्नेछ। एयर इन्डियाले नयाँदिल्ली-काठमाडौँ मार्गमा दैनिक ६ उडान सञ्चालन गरिरहेको छ। यसैगरी इन्डिगोले नयाँदिल्लीबाट दुई र मुम्बईबाट एक उडान काठमाडौँका लागि सञ्चालन गर्दै आएको छ। नेपालको सरकारी स्वामित्वको नेपाल एयरलाइन्सले काठमाडौँबाट नयाँदिल्ली, मुम्बई र बेंगलुरुका लागि सीधा उडान सञ्चालन गर्दै आएको छ भने बुद्ध एयरले काठमाडौंबाट वाराणसीका लागि उडान गर्दै आएको छ। भूटानी विमान सेवा कम्पनीहरू-भूटान एयरलाइन्स र ड्रुक एयर-ले पनि काठमाडौंबाट नयाँ दिल्लीका लागि र नयाँ दिल्लीबाट काठमाडौंका लागि उडान सञ्चालन गर्दै आएका छन्।
