Comments Add Comment

बन्यो सिद्धिचरण श्रेष्ठकाे खण्डकाव्य 'भीमसेन थापा'मा आधारित नाटक

काठमाडौँ । युगकवि सिद्धिचरण श्रेष्ठद्वारा लिखित खण्डकाव्य ‘भीमसेन थापा’मा आधारित नाटक रंगमञ्चमा मञ्चन हुने भएको छ ।सनम कुमार बैरागको परिकल्पना र निर्देशनमा नाटक बेलायत र नेपालका विभिन्न सहरमा मञ्चन हुन लागेको हो।

भीमसेन थापाको योगदानलाई युगकवि श्रेष्ठले खण्डकाव्यमा लेखेका छ्न्। नेपालको पहिलो प्रधानमन्त्री भिमसेन थापा, जसले राष्ट्रको संरक्षण र स्वाधीनताका लागि धेरै संघर्ष गरे। उनको जीवन राजनीतिक उतारचढाव, सैनिक युद्ध र व्यक्तिगत संघर्षले भरिएको छ ।

भीमसेन थापाको योगदानलाई पुस्तौँपुस्तासम्म पुर्‍याउने उद्देश्यले नाटक तयार पारिएको निर्देशकले बताए। यसअघि नाटक बेलायतमा मञ्चन गरिसकेको र पुन: देखाउन लागेको निर्देशक बैरागले बताए। नाटकमा भीमसेन थापाको भूमिका सनम कुमार बैराग आफैँले निभाएका छन् भने अन्य कलाकार सामन्ता तामाङ, सुरेश श्रेष्ठ, गोपाल बस्नेत र सुशन गुरुङ रहेका छन्।

अप्रिल २६ देखि मे महिनाभर बेलायतकाे लन्डन, रिडिङ, विलविच, अल्डरसट, स्कटल्यान्ड लगायतका विभिन्न सहरमा नाटक मञ्चन हुने जनाईएको छ। नेपालमा मण्डला थिएटरमा दसैँ तिहारपछि १५ शो मञ्चन गरिनेछ भने काठमाडौँपछि पोखरा, चितवन, बिर्तामोड, धरान लगायतका सहरमा नाटक मञ्चन गरिने टिमको तयारी छ।

पछिल्लो समय लन्डनमा बस्दै आएका निर्देशक बैरागले पछिल्लो समय चलचित्र ‘कैदीको पत्र’ निर्देशन गरेका थिए। यसअघि उनले नाटक ‘समय दृश्य’ र ‘जिगिशा’ निर्देशन गरिसकेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ