Comments Add Comment

कक्षा ८ को नगरस्तरीय परीक्षामा आधा विद्यार्थी अनुत्तीर्ण

घोराही । कक्षा ८ को नगरस्तरीय परीक्षामा झण्डै आधा विद्यार्थी अनुत्तीर्ण भएका छन् । घोराही उपमहानगरपालिका शिक्षा महाशाखाले सोमबार नगरस्तरीय नतिजा सार्वजनिक गर्दै परीक्षामा सहभागी भएकामध्ये ५४ दशमलव शून्य ९ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण हुन सफल भएको जानकारी दिएको हो ।

कक्षा ८ को नगरस्तरीय परीक्षामा सहभागी भएका घोराहीका ९९ विद्यालयका कुल चार हजार पाँच सय २६ विद्यार्थी मध्ये दुई हजार चार सय ४८ जनामात्रै उत्तीर्ण भएको घोराही उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख नारायण पौडेलले जानकारी दिनुभयो । परीक्षामा दुई हजार ७७ विद्यार्थी अनुत्तीर्ण भएका छन् ।

तुलनात्मकरुपमा संस्थागततर्फको नतिजा सन्तोषजनक देखिएको छ भने सामुदायिकतर्फको नतिजा चिन्ताजनक नै छ । परीक्षामा सहभागी घोराहीका ४१ सामुदायिक विद्यालयका कुल दुई हजार एक सय ८१ परीक्षार्थीमध्ये जम्मा पाँच सय ३४ जना उत्तीर्ण भएका छन् । अरु एक हजार छ सय ४७ जना अनुत्तीर्ण भएका छन् । सामुदायिक विद्यालयका जम्मा २४ दशमलव ४८ प्रतिशत उत्तीर्ण भएका छन् । सामुदायिततर्फ चारवटा विद्यालय त नील भएका छन् । अम्बिकेश्वरी आवि बेलघारी, मदरसा दारुल हुदा अल्सल्फिया आवि, माता पवित्रा सांग्वेद आवि शुक्रवार र सिर्जनशील आवि बाहुनडाँडाका शतप्रतिशत विद्यार्थी अनुत्तीर्ण भएको महाशाखाले जानकारी दिएको छ । त्यसो त कुनै पनि सामुदायिक विद्यालयले शतप्रतिशत उत्तीर्ण गराउन सकेका छैनन् ।

तुलनात्मकरुपमा विद्यार्थी उत्तीर्ण भएका संस्थागत विद्यालयमा पनि विद्यार्थी अनुत्तीर्ण भएका छन् । परीक्षामा सहभागी ५८ संस्थागत विद्यालयका दुई हजार तीन सय ४५ विद्यार्थीमध्ये एक हजार नौ सय १४ विद्यार्थी उत्तीर्ण भएका छन् भने चार सय ३१ विद्यार्थी संस्थागततर्फ अनुत्तीर्ण भएको पाइएको छ । कुल ८१ दशमलव ६६ प्रतिशत विद्यार्थी उत्तीर्ण गराएका संस्थागत विद्यालयतर्फ ४८ संस्थागत विद्यालयमा विद्यार्थी अनुत्तीर्ण भएका छन् । १० संस्थागत विद्यालयले मात्रै आफ्ना शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराएका छन् । परीक्षामा विषयगततर्फ सबैभन्दा धेरै अनिवार्य गणितमा एक हजार सात सय ४१ विद्यार्थी अनुत्तीर्ण भएका छन् भने सबैभन्दा कम अनिवार्य अंग्रेजीमा अनुत्तीर्ण भएका छन् ।

नतिजाअनुसार अनिवार्य नेपालीमा पाँच सय ३६ जना, सामाजिक अध्ययन तथा मानवमूल्य शिक्षामा पाँच सय ६३ जना, विज्ञान तथा प्रविधिमा छ सय ८१ जना, स्वास्थ्य तथा शारीरिक शिक्षामा सात सय ४८ जना र हाम्रो घोराहीमा चार सय जना विद्यार्थी अनुत्तीर्ण भएका छन् ।

अनुत्तीर्ण सबैलाई मौका परीक्षा

शिक्षा महाशाखाले नगरस्तरीय परीक्षामा अनुत्तीर्ण भएका सबै विद्यार्थीलाई मौका परीक्षाको अवसर दिने जनाएको छ । मौका परीक्षाका लागि महाशाखाले चैत १९ देखि २५ गतेसम्म मौका परीक्षाका लागि फाराम भर्ने समय तोकेको छ । त्यस्तै चैत १९ देखि २२ सम्म पुनर्योग गर्न पनि सकिने महासंघ प्रमुख पौडेलले जानकारी दिनुभयो । परीक्षामा अनुत्तीर्ण भएका सबै दुई हजार ७७ जना मौका परीक्षामा सहभागी हुन पाउनेछन् भने मौका परीक्षामा पनि अनुत्तीर्ण भए कक्षा ८ मै पढ्नुपर्ने व्यवस्था गरिएको छ । दुबै परीक्षामा अनुत्तीर्ण भएकालाई कक्षा बढाउन नसकिने र यो नियम कडाइका साथ लागु हुने महाशाखाले जनाएको छ ।

विद्यार्थी नभए स्कूल घटुवा: मेयर

घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले कक्षा ८ मा विद्यार्थी अनुत्तीर्ण भएर नौ कक्षामा विद्यार्थी थोरै हुने अवस्था आएका विद्यालयलाई घटुवा गर्ने चेतावनी दिनुभएको छ । ‘कतै शतप्रतिशत विद्यार्थी अनुत्तीर्ण भएका छन्, कतै दुई, चारजना उत्तीर्ण भएका छन्’– मेयर चौधरीले भन्नुभयो– ‘धेरै विद्यार्थी ८ मै रोकिने तर २–४ जनालाई नौ कक्षा पढाउन विषयगत शिक्षकलाई राख्न सकिदैन । बरु उत्तीर्ण भएकालाई अर्को नजिकको विद्यालयमा सुविधासहित पठनपाठनको व्यवस्था गरिन्छ । त्यस्तो परिस्थितिका विद्यालय घटुवामा पर्छन ।’ उहाँले घोराहीको शैक्षिक गुणस्तरको अवस्था के छ भन्ने कक्षा ८ को नतिजाले दर्शाएको भन्दै यसलाई सुधार गर्न उपमहानगर, शिक्षक, विद्यार्थी र अभिभावक लाग्नुपर्ने बताउनुभयो । ‘यति धेरै विद्यार्थी फेल भएको देखिन्छ, यो नतिजा विद्यार्थीको मात्रै होइन, यो नतिजा शिक्षकको पनि हो, अभिभावक र उपमहानगरको पनि हो’– नगर प्रमुख चौधरीले भन्नुभयो– ‘बल्ल हाम्रो अवस्था थाहा भयो । अब कक्षा पाँचको परीक्षा पनि नगरस्तरीय बनाउने योजनामा छौं ।’ उहाँले शैक्षिक अवस्था सुधार गर्न आठ कक्षामा मात्रै पढाएर नहुने र त्यसका लागि बाल विकासबाटै मेहनत गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सामुदायिक विद्यालयको तर्फबाट हापुर निघुवारका प्रधानाध्यापक अर्जुनकुमार न्यौपानेले यस्तो नतिजाको जिम्मेवारी शिक्षकहरुले पनि लिने भन्दै आगामी दिनमा सुधार गर्दै लैजाने प्रतिबद्धता जनाउनुभयो । यस्तै घोराही उपमहानगरपालिका सामाजिक विकास समितिका संयोजक राममणि पाण्डेले शिक्षकहरुलाई जवाफदेही हुन आग्रह गर्नुभयो । कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले विद्यालयमा प्रोत्साहन र दण्डलाई लागु गर्नुपर्नेमा जोड दिनुभयो । यस्तै प्याव्सन घोराहीका अध्यक्ष बालकृष्ण वलीले शैक्षिक गुणस्तरमा निजी विद्यालयको योगदानलाई उपमहानगरले मूल्यांकन गर्नुपर्ने बताउनुभयो । नतिजा सार्वजनिक कार्यक्रमको सहजीकरण शिक्षा महाशाखाकी विपना बर्तौलाले गर्नुभएको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ