दाङका विकट स्थानीय तहमध्येको एक हो राजपुर गाउँपालिका । भारतको सीमाक्षेत्रसँग जोडिएको राजपुर गाउँपालिकाबासी भारतको नाका क्षेत्रमा बस्दै आएका छन् । जंगल क्षेत्र, शिक्षा, स्वास्थ्य, सडक, सञ्चारको समेत समस्या रहेको गाउँपालिकामा अहिले पनि सहज सडक यातायातको व्यवस्था छैन । २०७४ मा स्थानीय सरकार आएपछि देशको सीमा रक्षकको समेत भूमिका खेलिरहेका नाकावासी र समग्र राजपुर गाउँपालिकामा शिक्षा, स्वास्थ्य, आवास, खाद्यअधिकारको अवस्था के छ ? प्रस्तुत छ राजपुर गाउँपालिकाका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक धनपतीदेवी यादवसँग गरिएको कुराकानी – सम्पादक
न्यायिक समिति सञ्चालन कसरी भइरहेको छ ?
हरेक महिनाको शुक्रबार इजलास बस्छ । तर विवाद मिलापत्रको काम निरन्तर जारी हुन्छ । धेरैजसो विवादको समाधान मेलमिलापबाटै गर्दै आएका छौं । कतिपय मिल्न नसकेका विवाद अदालत पठाइरहेका छौं तर धेरैजसो विवादको समाधान हामीले नै गरिरहेका छौं । मेलमिलापकर्ताहरू वडास्तरमै पनि क्रियाशील हुनुहुन्छ । केही विवाद वडास्तरमै मेलमिलाप गर्ने काम गरिएको छ ।
हिंसा न्यूनीकरणमा तपाईँहरूको भूमिका के छ ?
प्रायः विवाद घरपरिवारमा हुन्छ । छरछिमेकमा हुन्छ । अझ घरभित्र हुने हिंसा र विवाद न्यूनीकरण गर्न हामीले जोडीहरूलाई तालिम दिइरहेका छौं । मुख्यगरी पति, पत्नीबीच र सँगसँगै सासु बुहारीबीचको विवाद र हिंसा बढी हुन्छ । त्यसैले हामीले पति/पत्नी, सासू/बुहारी दुबैजनालाई बोलाएर तालिम दिने, सचेत बनाउने, मेलमिलाप गरेर बस्ने र एकअर्कालाई सम्मानपूर्ण व्यवहार गर्दा झैझगडा, हिंसा न्यूनीकरण हुन्छ भन्ने खालको शिक्षा र सचेतना दिने काम गरिरहेकै छौं ।
दलको नेताले नेतृत्व गरेको न्यायिक समितिप्रति जनविश्वास छ ?
म दुई कार्यकाल न्यायिक समितिको संयोजक भएर भूमिका निभाइरहेकी छु । मेरो इजलासमा आउने विवादलाई मैले दलीय चश्माले हेरेको छैन । दुबै पक्षलाई न्याय हुने गरी गरिने निर्णयले अहिलेसम्म समस्या भएको छैन । सबैलाई समान व्यवहार गर्दा नै मलाई कसैले दबाब दिने वा प्रभावमा पार्ने कोसिस पनि गर्नुभएको छैन ।
न्यायिक समितिप्रति विश्वास बढ्दै गएको छ ।
उपभोक्ता हित र खाद्य अधिकारका पक्षमा के गर्नुभयो ?
राजपुर गाउँपालिका ठूलै शहर वा बजार क्षेत्र होइन । तथापि खाद्य वस्तुको खरिद बिक्री हुने बजारको नियमित अनुगमन गरिरहेका छौं । हामीले अहिले तीन–तीन महिनामा बजार अनुगमन गरिरहेका छौं । अनुगमनका क्रममा भेटिएका अखाद्य वस्तु तथा म्याद सकिएका वस्तुलाई बरामद गरेर नष्ट गर्ने काम पनि गरिरहेका छौं । अर्को कुरा राजपुर कृषि उत्पादन क्षेत्र पनि हो । विशेष गरी दैनिक उपभोग्य वस्तु उत्पादनमा विषादीको प्रयोग नगर्न र गर्नै परे जैविक विषादीको प्रयोग गर्न किसानलाई उत्प्रेरित गरिरहेका छौं । किसानलाई जैविक मल तथा विषादीको उत्पादन तालिम दिएका छौं । सकेसम्म अग्र्यानिक उत्पादन गर्ने र उपभोग गर्ने भन्ने ध्येयका साथ काम गरिरहेका छौं ।
निःशुल्क शिक्षालाई कति कार्यान्वयन गर्नुभएको छ ?
राजपुर गाउँपालिकामा ३१ वटा विद्यालय छन् । सबै विद्यालयमा १२ कक्षासम्म निःशुल्क गरिएको छ । विषयगत शिक्षक भर्ना गरेर पठनपाठन सुचारु गरेका छौँ भने विद्यार्थी अनुपातअनुसार शिक्षक उपलव्ध गराएका छौं । पठनपाठनलाई प्रभावकारी बनाउन कोचिङ कक्षाको पनि व्यवस्था गरेका छौं । यस अघि अभिभावक सहयोगको नाममा लिइने शुल्क पनि हामीले बन्द गरेका छौं । मनपर्दी कसैले उठाएको थाहा पाए कारवाही हुन्छ ।
पालिकावासी सिटामोलका लागि कहिलेसम्म भारत पुग्नुपर्छ ?
पहिले–पहिले ज्वरोको औषधि लिन पनि भारत पुग्नुपथ्र्यो नाकावासीलाई । तर अहिले समस्या समाधान गरिसकेका छौं । हाम्रो पालिकाको सिमाना भारतसँग जोडिएको छ । विकट छ । त्यसैले अहिले नाका क्षेत्रमा दुईवटा केन्द्रबाट प्रसूति सेवा दिइरहेका छौं । बच्चा जन्माउन पनि भारत पुग्नुपर्ने अवस्थाको अन्त्य गरिएको छ । हरेक वडाबाट आधारभूत स्वास्थ्य उपचार सेवाको व्यवस्था गरेका छौं । गम्भीर स्वास्थ्य समस्या भए त जानुपर्ला नत्र आधारभूत स्वास्थ्य सेवा सबै ठाउँमा पु¥याएका छौं । आगामी दिनमा १५ शैयाको अस्पताल बनाउने प्रक्रिया शुरु गरिसकेका छौं ।
