नेपाली राजनीतिमा अहिले तीनवटा शक्ति अस्तित्वमा छन्– प्रतिगामी (राजावादी), यथास्थितिवादी (दलाल संसदवादी) र अग्रगामी क्रान्तिकारी (जनगणतन्त्रका पक्षधर)। प्रतिगामी र यथास्थितिवादीहरूबाट देशमा विद्यमान र आसन्न संकटको समाधान सम्भव छैन ।
काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यवाहक महासचिव सीपी गजुरेल 'गौरव'ले जनगणतन्त्रको बहसलाई जनताको घर घरमा पुर्याउन आवश्यक रहेको बताउनु भएको छ । पार्टीको ९ नं. व्यूरोले शनिबार बागबजारको हार्दिक होटलमा आयोजना गरेको ‘वर्तमान राष्ट्रिय राजनीतिक अवस्था र निकासको प्रश्न' विषयक अन्तरक्रिया कार्यक्रममा गजुरेलले यस्तो बताउनु भएको हो ।
‘वर्तमान राजनीतिक संकट र समाधानको प्रश्न’ शीर्षकको कार्यपत्रमाथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा उहाँले भन्नुभयो, “नेपाली राजनीतिमा अहिले तीनवटा शक्ति अस्तित्वमा छन्– प्रतिगामी (राजावादी), यथास्थितिवादी (दलाल संसदवादी) र अग्रगामी क्रान्तिकारी (जनगणतन्त्रका पक्षधर) शक्ति रहेका छन् । प्रतिगामी र यथास्थितिवादीबाट देशमा विद्यमान र आसन्न संकटको समाधान सम्भव छैन, जनगणतन्त्रको स्थापनाले मात्रै संकटको समाधान दिनसक्छ । त्यसैले अब जनगणतन्त्रको बहस जनताको घर घरमा पुर्याउन जरुरी छ ।”
अर्को एक प्रश्नमा नेता गौरवले जनगणतन्त्रको विषयमा सात वर्षसम्म पार्टीभित्र दुईलाइन संघर्षको रुपमा प्रचण्डसँग बहस चलाएको भन्दै कम्युनिस्ट र माओवादी वृतमा जनगणतन्त्र नौलो नरहेको पनि स्पष्ट पार्नुभयो । प्रचण्ड–बाबुरामले जनगणतन्त्र छाडेपछि नै आफूहरूले विद्रोह गर्नुपरेको उहाँले जिकिर गर्नुभयो ।
अर्को एक प्रश्नको जवाफमा उहाँले विप्लवको बारेमा पनि संक्षिप्तमा टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, ‘विप्लव क्रान्तिकारी सोचबाट धेरै टाढा गइसकेका छन् । उनीमा विचार र राजनीतिमा ठूलो विचलन देखापरेको छ । उनले जनमत संग्रह गरेर समाजवाद ल्याउने कुरा गर्दै आएका छन् । उहाँको दस्तावेजबाट व्यवस्था परिवर्तनको मुद्दा हराइसक्यो ।”
उत्पादनमा लागेकोले पार्टीमा खानलाउनका लागि कुनै दुःख छैन भनेर विप्लवले गर्ने गरेको टिप्पणीमाथि उहाँको भनाइ थियो– खानका लागि होइन, व्यवस्था परिवर्तनका लागि कम्युनिस्ट आन्दोलनमा लाग्ने हो । खानलाउनका लागि कम्युनिस्ट भइबस्नु पर्दैन ।
अन्तरक्रिया कार्यक्रममा सीपी जगुरेल गौरवले प्रस्तुत गरेको कार्यपत्रमाथि नेकपाका अध्यक्ष तथा क्रान्तिकारी संयुक्त मोर्चाका संयोजक लोकनारायण सुवेदी, अर्थविद् दीपेन्द्रबहादुर क्षेत्री, प्रा. डा. जगदीशचन्द्र भण्डारी र डा. महेशमान श्रेष्ठले टिप्पणी गर्नुभएको थियो । उहाँहरुले प्रतिगामी र यथास्थितिवादभन्दा जनगणतन्त्र नै सही अर्थमा अग्रगामी निकास हुनसक्ने बताउनु भएको थियो ।
डा. महेशमान श्रेष्ठले भन्नुभयो, ‘यथास्थितिवाद भनेको भ्रष्टाचारवाद हो । यसबाट नेपाली जनताको हित हुन सक्दैन । यथास्थितिवादी र प्रतिगामीहरू घोर जातीवादी (नश्लवादी) छन् । यिनीहरूबाट उपेक्षित र उत्पीडित जातिले अधिकार पाउन सक्दैनन् । उनीहरुभन्दा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले अगाडि सारेको र बहसमा ल्याएको जनगणतन्त्रले उत्पीडित र उपेक्षित जातिहरुलाई अधिकार दिन्छ । त्यस अर्थमा जनगणतन्त्रको माग यतिखेरको हकमा सही र अग्रगामी छ ।”
उहाँले भन्नुभयो– 'अधिकार नदिएर होइन, जनतालाई अधिकार दिएर मात्र राष्ट्रिय एकता र स्वाधीनता बलियो बनाउन सकिन्छ ।'
अर्थविद् दीपेन्द्रबहादुर क्षेत्रीले अहिलेको तरल राजनीतिक अवस्थामा क्रान्तिकारी कम्युनिस्ट पार्टीले बहसमा ल्याएको जनगणतन्त्रको सवाल महत्वपूर्ण रहेको टिप्पणी गर्नुभयो । उहाँले दुर्गा प्रसाईहरूले नेपाललाई भारतको प्रान्त बनाउनु पर्छ भनेर वकालत गर्ने गरेको भन्दै प्रतिगामीहरूको अराजकताबाट मुलुकलाई बचाउन गणतन्त्रवादीहरु एक हुनुपर्ने बताउनु भयो । हाम्रा कमजोरीलाई लिएर विदेशीलाई खेल्ने ठाउँ दिन नहुने उहाँको तर्क थियो ।
त्यस्तै राजनीतिक विश्लेषक लोकनारायण सुवेदीले सोचेभन्दा परिस्थिति निकै गम्भीर रहेको चर्चा गर्दै कार्यपत्रले नेपाली वस्तुस्थितिको सही र सूत्रात्मक रुपमा विश्लेषण गरेको टिप्पणी गर्नुभयो । उहाँले कार्यपत्रले बोलेजस्तै अब मुलुकको सहि निकास जनगणतन्त्र बाहेक अर्को हुन नसक्ने पनि ठोकुवा गर्नुभयो । उहाँले नेपालमा नयाँ जनवादी क्रान्ति पूरा नभएको चर्चा गर्दै नयाँ जनवादी गणतन्त्रको स्थापना गरेर मात्रै वैज्ञानिक समाजवादको दिशामा जान सकिने स्पष्ट पार्नुभयो ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको ९ नं. व्यूरोका इन्चार्ज दिनेश शर्मा 'सागर'को अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन व्यूरोका सचिव चिन्तामणि पौडेलले गर्नुभएको थियो ।
