Comments Add Comment

इजरायल-इरानमा रहेका नेपाली श्रमिकहरूको  उद्धार गर्न झलनाथ खनालको माग

काठमाण्डौं। नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले इजरायल–इरानमा रहेका नेपाली श्रमिकहरूको संरक्षण र उद्धार गर्न माग गरेका छन्। 

खनालले सोमबार एक विज्ञप्ति जारी गर्दै केही दिनयता इजरायल युद्धबाट अरब मुलुकमा रहेका लाखौँ नेपाली श्रमिकहरू प्रभावित हुनसक्ने भन्दै उनीहरूको संरक्षण र उद्धारका लागि तयारी गर्न सरकारलाई आग्रह गरेका छन्।

इजरायलले अमेरिकाको उक्साहटमा इरानमाथि हमला गरेको र इरानी जनताले प्रतिरोध गर्दै आइरहेको बताएका छन् । नेता खनालले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अत्यन्त क्रुर र फासिस्ट आक्रमण गरेको र इरानले नवनिर्माण गर्दै गरेको तीन वटा आणविक केन्द्रहरूलाई ध्वस्त पारेको दाबी गरिएको उल्लेख गरेका छन् । 

‘अमेरिकाले २०२५ जुन २१ मा गरेको यो नाङ्गो आक्रमणले संयुक्त राष्ट्र सङ्घको बडापत्रलाई समेत उल्लंघन गरेको छ । अन्तर्राष्ट्रिय कानुनलाई उल्लंघन गरेको छ । देश-देश बिचको सामान्य अन्तर्राष्ट्रिय सम्बन्धका नियमहरुलाई पनि उल्लंघन गरेको छ र राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वमा जङ्गली राजको नमुना प्रदर्शन गरेका छन्’, खनालले भनेका छन् ।

साथै उनले आफ्नै देशका नियम, कानुन र प्रचलनलाई समेत उल्लंघन गरेर अमेरिकाले विश्व शान्ति र मध्यपूर्वको शान्तिका विरुद्ध गम्भीर खतरा उत्पन्न गरेको बताएका छन् । 

इरानमाथि अमेरिकी आक्रमणको कडा शब्दमा निन्दा र भर्त्सना गर्दै आक्रमणले सिङ्गो विश्वको र विशेष गरी मध्यपूर्वको शान्ति नराम्ररी खलबलिएको उनले बताएका छन् । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ