Comments Add Comment

अवैध प्रेमको परिणाम, सौरभको ज्यान लिंदा मुस्कान-साहिल झ्यालखाना !

काठमाडौँ । भारतको उत्तर प्रदेश राज्यको मेरठ निवासी मुस्कान र सौरभ राजपुतबीच सन् २०१५ मा शुरु भएको प्रेम सम्बन्ध सन् २०१६ मा विवाहमा परिणत भयो । दुईबाट एक छोरी समेत छिन्, जो अहिले दुई कक्षामा पढ्छिन् । 

एक व्यावसायिक पानीजहाजमा अफिसरका रूपमा काम गर्ने सौरभ

लामो समय सामुद्रिक यात्रामा रहन्थे भने मुस्कान मेरठमै भाडाको घरमा छोरीसँग बस्दै आएकी थिइन् । सन् २०१९ मा मुस्कानको जीवनमा साहिल नाम गरेका युवकको प्रवेश भयो जो मुस्कान बसेकै टोलमा बस्दथे । सुरुवातमा दुवैबिच मित्रता थियो । बिस्तारै उनीहरुबिच गहिरो प्रेम सम्बन्धको शुरुवात भयो । यतिसम्म कि त्यही प्रेम सम्बन्ध नै सौरभको हत्याको कारण बन्न पुग्यो भने मुस्कानलाई जेलसम्म पुर्‍याउने बाटो ।

२५ फेब्रुअरीमा मुस्कानको जन्मदिन थियो । आफ्नो जन्मदिनलाई विशेष बनाउने तयारीमा मुस्कान थिइन् । साहिलसँगको प्रेममा डुबेकी मुस्कानले पति सौरभको हत्याको योजना बनाइन् ।

मेरठका एसपी आयुषविक्रम सिंहका अनुसार सौरभ ४ मार्चमा मेरठ आएका थिए । त्यतिबेला नै उनको हत्या भएको सिंहको भनाइ छ ।

४ मार्चको राति सौरभ घरमा सुतिरहेका थिए । मुस्कानकै योजना र सल्लाहमा साहिलले सौरभमाथि चक्कु प्रहार गरे र केहीबेरमै सौरभको मृत्यु भयो ।

मुस्कानले आफू पति सौरभसँग हिमाञ्चल घुम्न जान लागेको हल्ला फिँजाइन् । त्यसपछि घरमा ताला लगाएर हिँडिन् । त्यसअघि उनले एउटा प्लास्टिकको ड्रम किनेर ल्याइन्, जसमा सौरभको शवलाई टुक्राटुक्रा पारेर राखिन् र माथिबाट सिमेन्टको घोल हालेर त्यसलाई ठोस आकार दिइयो ।

सौरभको हत्यापछि मुस्कान र उनका प्रेमी साहिल तीन दिनसम्म मनालीमा बसे । त्यहाँ दुवैले हनिमुन मनाए ।

मुस्कानले पतिको हत्या सम्बन्धमा कसैलाई शंका नहोस् भनेर निकै चलाखीपूर्ण तरिकाले काम गरे पनि आमालाई भने यसबारे जानकारी दिएकी थिइन् । मुस्कानकी आमाले नै प्रहरीलाई जानकारी दिएकी हुन् । प्रहरीले मुस्कानलाई नियन्त्रणमा लिएर सोधपुछ गर्‍यो । सुरुमा आत्तिएकी उनले झुट बोलेर प्रहरीलाई अलमल्याउन खोजेकी थिईन् । प्रहरीले सोधपुछ गर्दा साहिलले भने उक्त घटना लुकाउन सकेनन् ।

त्यसपछि प्रहरीले मुस्कान र सौरभ बस्दै आएको घरमा पुगेर ड्रम खोल्यो । ड्रमभित्र ठोस सिमेन्ट भरिएको थियो । कडा मेहनतपछि प्रहरीले सिमेन्टले ढाकिएको शव बरामद गरी पोस्टमार्टमका लागि पठाएको थियो ।

मुस्कान र उनका प्रेमीलाई नियन्त्रणमा लिएर हत्या र षडयन्त्र रचेको लगायतका विभिन्न धारामा मुद्दा दर्ता गरिएको मेरठका एसपी सिंहले बताएका छन् । साहिलसँगको मुस्कानको अवैध प्रेम सम्बन्धले सौरभको ज्यान गयो । 

(एजेन्सीको सहयोगमा)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ