Comments Add Comment

अंकिता हत्याप्रकरणका दोषीलाई आजीवन काराबास, फैसलाप्रति सोनी देवी असन्तुष्ट

काठमाण्डौ । उत्तराखण्डको अंकिता भण्डारी हत्या प्रकरणमा पौडी गढवाल जिल्ला अदालतको फैसला चित्त नबुझेको भन्दै अंकिताका अभिभावकले उच्च अदालत जाने बताएका छन् ।

अदालतको फैसलापछि अंकिताकी आमा सोनी देवीले अदालतको निर्णयप्रति असन्तुष्टि जनाइन्। अदालतको फैसलापछि रुँदै उनले भनिन्, ‘उनीहरूले हाम्री छोरीसँग यति नराम्रो व्यवहार गरे, हाम्रो जीवन नर्क बनाए। म जिउँदै छँदा उनीहरूलाई फाँसी दिइएको भए म सन्तुष्ट हुने थिएँ। छोरी गुमाउनुको पीडा म मात्र बुझ्न सक्छु।’

अंकिताका बुबा वीरेन्द्र भण्डारी पनि अदालतको फैसलाबाट सन्तुष्ट छैनन्।

सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘उनीहरूले मेरी निर्दोष छोरीलाई मारे, हामी जीवित छँदै उनीहरूलाई फाँसी दिनुपर्थ्यो। रिसोर्ट भत्काइएको थियो र जानाजान प्रमाण नष्ट गरिएको थियो। हामी यो निर्णयविरुद्ध उच्च अदालत जान्छौँ।’

पौडी गढवाल जिल्ला अदालतले शुक्रबार प्रमुख प्रतिवादी पुलकित आर्यसँगै सौरभ भास्कर र अंकित गुप्तालाई अंकिता भण्डारी हत्या-प्रकरणमा दोषी ठहर गर्दै आजीवन कारावासको सजाय सुनाएको थियो ।

अदालतले अंकिताको परिवारलाई चार लाख रुपैयाँ क्षतिपूर्ति दिन पनि आदेश दिएको छ।

वनन्तरा रिसोर्टका मालिक पुलकित आर्य भारतीय जनता पार्टीका पूर्वनेता तथा पूर्वराज्यमन्त्री विनोद आर्यका छोरा हुन्।

उत्तराखण्डको पौडी गढवाल जिल्लाको दोभ श्रीकोटकी निवासी अंकिता भण्डारी लक्ष्मण झुला प्रहरी चौकी क्षेत्र र ऋषिकेशको चिलाको बीचमा रहेको वनन्तरा रिसोर्टमा रिसेप्सनिस्ट थिइन्।

२०२२ सेप्टेम्बरमा अंकिता हराएको रिपोर्ट गरिएको थियो र त्यसपछि दुई दिनपछि चिला नहरमा उनको शव भेटिएको थियो।

हाल पुलकित आर्य अल्मोडा जेलमा, अंकित गुप्ता देहरादुन र सौरभ भास्कर टिहरी जेलमा छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार उनीहरूविरुद्ध युवतीको हत्या, प्रमाण नष्ट गर्ने र अनैतिक देह व्यापार (निवारण) ऐन अन्तर्गत मुद्दा चलाइएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ