तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ र ४ जोड्ने मादी नदी पुलबाट जिप खस्दा तीन जनाको मृत्यु भएको छ । दमौलीबाट चापाघाट जाँदै गरेको ग२च ५७६० नम्बरकोे जिप शनिबार राती पुलको रेलिङ भत्काएर मादी नदीमा खसेको हो ।
तीनजनाको निधन भएको छ भने दुर्घटनामा दुई जना घाइते भएका छन् । घाइतेहरूको दमौली अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिएका छन् । जिपमा पाँच जना सवार भएको जनाईएको छ ।
मृत्यु हुनेमा व्यास–५ का ३५ वर्षीय प्रविन थापा मगर, सोही ठाउँका २२ वर्षीय कुमार थापा र २० वर्षीय कुशल थापा रहेका प्रहरीले जनाएको छ । उनीहरूको दमौली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
घाइतेमध्ये एक जना गम्भीर रहेकाले थप उपचारका लागि पोखरा पठाइएको छ। दुर्घटनाका घाइतेलाई नेपाली सेनाको कालीभञ्जन गण, नेपाल प्रहरी र स्थानीयले उद्धार गरेका हुन्।
