Comments Add Comment

युवा संघको महाधिवेसन पोखरामा, प्रधानमन्त्रीबाट आज उद्घाटन

कास्की । राष्ट्रिय युवा संघको १०औं राष्ट्रिय महाधिवेशन पोखरामा सुरू हुँदैछ । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शनिबार मध्याह्न १२ बजे अमरसिंह चौर पोखरामा महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ ।

संगठनका महासचिव सुमन पुरीले अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाए । उनका अनुसार महाधिवेशनमा १ हजार ७ सय ९२ जना प्रतिनिधि हुनेछन् । तर, विभिन्न पार्टीका युवा संघ–संगठन, अन्य कमिटी परित्याग गरी राष्ट्रिय युवा संघमा आएकाहरूलाई पनि ध्यानमा राखेर प्रतिनिधि संख्या केही बढाउने समझदारी भएको समेत जनाएका छन्। यसरी बढ्दा प्रतिनिधिको संख्या १ हजार ८ सय ३४ पुग्न युवा संघले जनाएको छ ।

एमालेको पछिल्लो नीतिअनुसार युवा संघको महाधिवेशनले ९ पदाधिकारीसहित १ सय ५१ सदस्यीय नयाँ केन्द्रीय समिति निर्वाचित गर्नेछ । संगठनका अध्यक्ष क्षितिज थेवे अधिवेशनबाट नेतृत्वमा दोहोरिन चाहेका छन् । महासचिव सुमन पुरी, उपाध्यक्षहरू कृष्णहरि केसी, प्रकाश गौतम र महाराज गुरूङले पनि अध्यक्षमा चासो देखाएका छन् ।

महासचिवमा खेम शर्मा, कुबेर अधिकारी, विनय शाह, राजन थापा, महेश चौलागाईं, निरोज पौडेल लगायतको नाम चर्चामा छ । परिवर्तित नीतिअनुसार युवा संघमा दुई जना उपाध्यक्ष हुनेछन् । जसमा एकजना महिला अनिवार्य गरिएको छ ।

महिला उपाध्यक्षमा शारदा पछाईं, नीशा लिम्बू, रेशु तामाङ, अनुपमा राईले आकांक्षा राखेका छन् । खुलातर्फ बलराम बेलबासे, राजन थापा, राकेश राई लगायतको चर्चा छ ।

आगामी नेतृत्वका लागि आकांक्षी बढे पनि पार्टी नेतृत्वले भने प्रतिस्पर्धा चाहेको छैन । फागुन यता अधिवेशन भएका १० वटा जनसंगठनमा कतै पनि निर्वाचन भएन । अधिवेशन भएका सबै जनसंगठनमा सर्वसम्मत नेतृत्व चयन गरिएको छ ।

राष्ट्रिय युवा संघ नेपाल नेकपा एमालेको भातृ संगठन हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ