Comments Add Comment

ठेकेदारको लापरवाही, तीनवर्षमा बनेन घ्याङ्लेख गाउँपालिका भवन

सिन्धुली । घ्याङलेख गाँउपालिकाको प्रशासनिक भवनको निर्माण कार्य निर्धारित समयभन्दा पछाडी धकेलिएको छ । ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण भवन निर्माण कार्यपछाडी धकेलिएको हो । 


सम्झौता भएको दुई वर्ष नौ महिना बितिसक्दा पनि भवन निर्माण कार्यले गति लिन सकेको छैन । यो अवधिमा ४५ प्रतिशत मात्रै निर्माण कार्य सकिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दाताराम प्याकुरेलले बताए । 
प्रमुख प्रशाकीय अधिकृत प्याकुरेलले भने, “भवन निर्माणका लागि डेढ बर्षको म्याद पाएको निर्माण कम्पनीले सम्झौता भएको दुई बर्ष नौ महिना बितिसक्दा पनि भवन निर्माण सम्पन्न गर्न सकेको छैन । ठेकेदारले काम नगरेर भवन निर्माणमा ढिलाई भईरहेको छ ।”

 २०७९ साल भदौ ३१ गते पिपि ईश्वरी जेभी मन्थली रामेछापसँग एक वर्ष आठ महिनाभित्र भवन निर्माण सम्पन्न गर्ने शर्तमा सम्झौता गरिएको थियो । सोही समयमा सम्झौता गरी निर्माण कार्य सुरु गरेको कम्पनीले त्यसपछि दुई पटक (छ-छ महिना) म्याद थप गर्दा पनि भवन निर्माण कार्यले गति पाउन सकेको छैन । दुई महिनाअघि मात्र ढलान सकिएको छ भने अब गाह्रो लगाउने काम छ । 


पटक-पटक मौखिक र लिखित ताकेता गर्दा पनि ठेकेदार भवन निर्माण कार्यमा गम्भिर नदेखिएको प्रमुख प्रशासकिय अधिकृत प्याकुरेलले टिप्पणी गरे । पछिल्लो पटक फागुन महिनामा चैतबाट लागू हुने गरी छ महिनाका लागि म्याद थपेको र अब भवन निर्माणको म्याद २०८२ भदौसम्म मात्र भएको समेत प्याकुरेलले बताए । ठेकेदारको लापर्बाहीले अबको चार महिनाभित्र भवन निर्माण कार्य पुरा हुने अवस्था नदेखिएको उनले गुनासो गरे ।


उक्त प्रशासनिक भवनको निर्माण लागत सङ्घिय सरकारको तीन करोड ३७ लाख ९५ हजार ६५७ रुपैयाँ र गाउँपालिकाको दुई करोड २५ लाख ३० हजार ४३८ रुपैयाँ गरी कुल पाँच करोड ६३ लाख २६ हजार ९५ रुपैयाँ रहेको छ । उक्त गाँउपालिकाको सेवा प्रवाह सुरुमा विद्यालय भवनबाट गरिएकोमा अहिले २ नम्बर वडा कार्यालयको भवनबाट प्रशासनिक कामको सेवा प्रवाह गरी काम चलाएको गाँउपालिका अध्यक्ष जगतबहादुर भोलनले बताए । बिषयगत शाखाहरु भने करिब तीन किलोमिटर टाढा डुम्रेमा रहेको आफ्नै भवनबाट सञ्चालन भईरहेको उनले जानकारी दिए । 


प्रमुख प्रशासनिक भवन निर्माण नहुँदा अहिले दुई वटा भवनबाट काम चलाउ रुपमा सेवाप्रवाह गरिएको छ । उक्त स्थानमा साना कोठा भएका कारण सेवा प्रवाहमा कठिन भएको छ । “स–साना कोठा छन्, कार्यालय दुई ठाँउमा राखिएको छ,’ प्रमुख प्रशासकिय अधिकृत प्याकुरेलले भने, ‘साना कोठा हुँदा सेवा प्रवाहमा प्रत्यक्ष असर परेको छ ।”


यता, पिपि ईश्वरी जेभि मन्थलीले भवन निर्माणको ‘स्ट्रक्चर’को काम सकिएको र अब थपिएको म्याद भदौ अन्तिमसम्ममा सबै काम सकिने दाबी गरेको छ । उक्त निर्माण कम्पनीका ठेकेदारका सहायक ठेकेदार अमित कार्कीले निर्माण सामग्रीको ल्याब टेष्ट रिपोर्ट आउन ढिलाई हुँदा भवन निर्माणको काम बिचमा डेढ महिना जति रोकिएको बताए । 


उनले भने, “ पहिला पनि ल्याब टेष्ट गरेर निर्माण सामग्री झारेको हो । पछि पनि झारेको सामग्रीको ल्याब टेष्ट गर्न पालिकाले विधि विज्ञानशाला पठाएको थियो । त्यसको रिपोर्ट बेलैमा नआउँदा काममा ढिलाई भएको हो । अहिले रिपोर्ट आई सकेकाले अब धमाधम काम हुन्छ ।”


उनका अनुसार सुरुमा भवन निर्माणको डिजाईन परिवर्तन गर्नु परेकोले सम्झौता गरेर १८ महिना जति साईडमा निर्माण सामग्री झारेर काम नगरी बस्नु परेको थियो । उनले अगाडि भने, 'अब काम गर्ने वातावरण भयो भने भदौसम्म निर्माण कार्य सकिने छ ।'

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ