काठमाण्डौं। सरकारले संक्रमणकालीन न्यायसम्बन्धी काम गर्ने दुई आयोगमा पदाधिकारीहरू नियुक्त गरेको छ । सरकारले गठन गरेको सिफारिस समितिको सिफारिसमा बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले दुवै आयोगमा पाँच–पाँच सदस्य नियुक्त गर्ने निर्णय गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
नियुक्त भएका सबै पदाधिकारीको तलब भत्ता राष्ट्रिय मानव अधिकार आयोग सरह रहने पनि उनले जानकारी दिए । कार्यकाल ४ वर्षको हुनेछ । उनका अनुसार, सत्य निरुपण तथा मेलमिलाप आयोगमा उच्च अदालतका पूर्वन्यायाधीश महेश थापा र बेपत्ता छानबिन आयोगमा पूर्व मुख्यसचिव लिलादेवी गड्तौला नियुक्त भएका छन् ।
सत्य निरूपण आयोगको सदस्यमा अच्युतप्रसाद भण्डारी, टीकाप्रसाद ढकाल, कुमारी कौशल्या ओझा र पदमबहादुर शाहीको नाम अनुमोदन गरेको छ । बेपत्ता छानबिन आयोगको सदस्यमा अग्निप्रसाद थपलिया गोपालनाथ योगी, सृजना पोखरेल, विनिता नेपालीको नाम अनुमोदन गरेको मन्त्री सुब्बाले जानकारी दिएका हुन् ।
