काठमाण्डौं। प्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवासीय नेपाली संघलाई एकताबद्ध, मर्यादित र उद्देश्यकेन्द्रित बनाउन आग्रह गरेका छन्। संघद्वारा आयोजित ‘एनआरएनए ग्लोबल कन्क्लेभ’ को आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यो संस्थाको उद्देश्यसँग नमिल्ने प्रवृत्तिहरु देखापर्नु उचित नहुने भनाइसहित संकीर्ण भावना त्यागेर उन्नतस्तरको एकतामा लाग्न आग्रह गरे।
‘आपसमा मिलेर एकताबद्ध भएर जानुपर्ने यस किसिमको साझा संस्थामा विवाद हुनु राम्रो होइन। व्यक्तिका लागि विधान फेर्ने ढङ्गले संस्था चल्न सक्दैन। यसमा विवेक र तर्कले काम गरोस्। व्यक्तिगत स्वार्थका लागि जे पनि गर्ने थलोका रुपमा यो विकास नहोस्’, प्रधानमन्त्री ओलीले भने, ‘नेपाली डायस्पोराका हकहितका साथै आपसी चिनजान, नेपाली संस्कृति परम्पराको निरन्तरता र देशका लागि के योगदान गर्न सकिन्छ भन्ने पवित्र उद्देश्यबाट तपाईंहरु विचलित हुनहुँदैन । यसमा दलीय राजनीति गर्नुहुँदैन र यसमा विभाजनको प्रयास सफल हुँदैन । विधिसम्मत कुरामा नेपाल सरकारको साथ रहनेछ।’
