Comments Add Comment

भन्सार जाँचपास सहज बनाउन उद्योगी-व्यवसायीको माग

काठमाडौं । उद्योगी–व्यवसायीले भन्सार जाँचपास प्रक्रिया सहज र झन्झटरहित बनाउन सरकारसित माग गरेका छन् । भन्सार दिवसको पूर्वसन्ध्यामा नेपाल उद्योग वाणिज्य महासंघमा आयोजित ७३औं अन्तर्राष्ट्रिय भन्सार दिवस तथा भन्सार जाँचपास एवं व्यापार सहजीकरण अन्तर्क्रिया कार्यक्रममा धारणा राख्दै उद्योगी–व्यवसायीले यस्तो माग गरेका हुन् ।

नेपालको भन्सार प्रशासनले राजस्व संकलनलाई उच्च प्राथमिकता दिएको उल्लेख गर्दै अवैध व्यापार नियन्त्रण तथा भन्सार सहजीकरणबाट सरकारले थप राजस्व संकलन गर्न सक्ने उद्योगी/व्यवसायीले बताए ।

तयारी वस्तु, कच्चापदार्थ तथा मध्यवर्ती वस्तुलाई स्पष्ट गरी भन्सार दर पुनरावलोकन गर्न सके उत्पादन क्षेत्र वृद्धि भई अर्थतन्त्रमा औद्योगिक क्षेत्रको योगदान बढाउन सकिने तर्क उनीहरूको छ ।


कार्यक्रममा अर्थ सचिव डा. रामप्रसाद घिमिरेले सरकारले निजी क्षेत्रको लगानीमा सहजीकरण गर्न नीतिगत सुधार गर्दै आइरहेको बताए । उनले भन्सारको प्रमुख उद्देश्य राजस्व संकलन नभई व्यापार सहजीकरण र निर्यात प्रवर्द्धन नै भएको बताए । ‘देशको आर्थिक विकासमा निर्यातको ठूलो भूमिका रहन्छ । हामी हाम्रा उद्योगी–व्यवसायीलाई कसरी सहजीकरण गर्न सकिन्छ भनेर लागेका छौं । सरकारले आवश्यकता अनुसार नीतिगत सुधार गर्दै आइरहेको छ । पछिल्ला नीतिगत सुधार पनि त्यसैका लागि आएका हुन्,’ उनले भने ।

उनले नेपालको वैदेशिक व्यापारको ठूलो हिस्सा भारतसँग रहेकाले भारतसँगको व्यापारमा पनि समस्या आउने गरेको बताए । उनले निकट भविष्यमा हुन लागेको ‘नेपाल–इन्डिया कस्टम म्युचुअल एग्रिमेन्ट’ ले ती समस्या समाधान हुने आशा गरिएको बताए ।

अर्थ सचिव डा. घिमिरेले विश्व परम्परागत व्यापारबाट आधुनिकतातर्फ गइरहेको सन्दर्भमा नयाँ पुस्तालाई व्यापार व्यवसायमा प्रोत्साहन गर्नुपर्नेमा जोड दिए भने नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले भन्सारका सबै गतिविधिले उद्योग–व्यापारमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले स्वस्थ व्यावसायिक वातावरण निर्माण गर्नेतर्फ निर्देशित हुन आवश्यक रहेकोमा जोड दिदै भने- ‘नेपालजस्तो आयातमा आधारित अर्थतन्त्र भएको मुलुकका लागि भन्सारले राजस्वमात्र संकलन गरेको हुँदैन, यसले समग्र मुलुकको आपूर्ति शृंखलालाई पनि व्यवस्थित गरी लगानी प्रवर्द्धनमा समेत उत्तिकै सहयोग गरिरहेको विषयलाई बिर्सनु हुँदैन ।’

अध्यक्ष ढकालले भन्सार प्रशासन अझ बढी निजी क्षेत्रमैत्री र सेवाग्राही प्रति उत्तरदायी बनाउने उद्देश्यले अन्तर्राष्ट्रिय प्रतिबद्धता (क्योटो कन्भेन्सन र टीएफए) अनुसार नयाँ भन्सार विधेयक संसदमा टेबुल हुन लागेको विषय स्वागतयोग्य रहेको बताए ।

उनले प्रविधिसँगै भौतिक पूर्वाधारको पनि व्यापार सहजीकरणमा महत्त्वपूर्ण योगदान रहने भएकाले निर्माणाधीन आइसीपीहरूको छिटो निर्माण सम्पन्न गर्ने र अन्य ठूला एवम् महत्त्वपूर्ण भन्सार कार्यालयमा थप पूर्वाधार विस्तारमा समयमै ध्यान दिनुपर्ने बताए ।

भन्सार विभागका महानिर्देशक हरिशरण पुडासैनीले राष्ट्रिय नीति उद्योग–व्यवसाय प्रवर्द्धनमैत्री भएकाले व्यवसायीहरूको मनोबल उच्च राख्ने गरी भन्सार प्रशासनले काम गरिरहेको बताए । उनले भन्सार प्रसाशन अन्तर्राष्ट्रिय भन्सार संगठनले प्रतिपादन गरेका नीतिलाई कार्यान्वयन गर्ने, भन्सार सहजीकरण गर्ने तथा प्रविधिको उच्चतम प्रयोग गर्ने गरी नै अगाडि बढिरहेको बताउँदै आर्थिक अनुशासन पक्षमा सबै इमान्दार हुन आवश्यक रहेकोमा जोड दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ