Comments Add Comment

विल्सन बिक्रम राई उर्फ तक्मे बुढा तोक्मा एपको ब्राण्ड एम्बासडर !

काठमाण्डौ । कलाकार विल्सन विक्रम राई डिजिटल सेवा प्रदायक कम्पनी ‘तोक्मा टेक्नोलोजीज’को ब्रान्ड एम्बासडर भएका छन् । सोमबार काठमाडौंको एक कार्यक्रममा उनलाई आफ्नो ‘ब्रान्ड फेस’को रुपमा सार्वजनिक गर्दै एपमार्फत् सेवा पनि सुरु गरेको हो ।

तोक्मा टेक्नोलोजीजमा राइड शेयरिङ, टुर गाइड, शपिङ, सेक्युरिटी जस्ता सुविधाहरू छन् । ब्रान्ड एम्बासडरमा नियुक्त भएपछि विल्सनले भने, ‘तोक्मा टेक्नोलोजीज एप मात्र होइन, यो नेपालमा दैनिक जीवनलाई जोड्ने, उत्थान गर्ने र सरल बनाउने एउटा क्रान्ति हो । म यस यात्राको हिस्सा हुन पाएकोमा गर्व गर्छु ।’

उनले तोक्मा एपले नेपालको पैसा नेपालमै रहोस्, रोजगारी सिर्जना होस्, देशको अर्थतन्त्र बलियो होस् भन्ने उद्देश्य लिएको बताए ।

एपका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सागर आङदेम्बेले तोक्मा नामबारे प्रष्ट पार्दै यसमा हिमालको जीवनशैली जोडिएको बताए । उनले भने, ‘तोक्मा हिमालको जीवनशैली जोडिएको नाम हो । भरियाले सहाराको रुपमा प्रयोग गर्ने लठ्ठीलाई तोक्मा भनिन्छ । यो एपले पनि मानिसको जनजीवनलाई सहारा दिने काम गर्छ ।’ एपको उद्देश्य रोजगारी सिर्जना गर्नु र पर्यटकलाई सुरक्षित सेवा प्रदान गर्नु हो । नेपाल विद्युत् प्राधिकरणका पूर्वप्रबन्ध निर्देशक कुलमान घिसिङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा तोक्मा एपसहित ‘जी कार्ड’ पनि सार्वजनिक गरिएको थियो । तोक्माले एनएफसी प्रविधिमा आधारित डिजिटल कार्ड ‘जी कार्ड’ ल्याएको हो । यो कार्डले भौतिक रूपमा भिजिटिङ कार्ड बोकेर हिड्नुपर्ने बाध्यतालाई अन्त्य गर्नेछ ।

कार्यक्रममा विद्युत् प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक घिसिङले तोक्मा एप मानिसको दैनिक जीवनमा एकदमै प्रयोग गर्नुपर्ने खालको रहेको बताए । उनले भने, ‘यी प्रडक्टले नेपालको डिजिटल इकोनोमीमा महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ । यसले थुप्रै रोजगारीका अवसर समेत सिर्जना गर्नेछ । प्रविधिले दैनिक काममा पनि इफिसेन्सी ल्याउँछ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ