काठमाण्डौं। गभर्नर नियुक्तिलाई लिएर झन्डै दुई महिनादेखि सत्तारुढ पार्टीमा नोकझोक चलिरहेको छ। नेताहरूका अनुसार नेकपा एमाले र नेपाली कांग्रेसबीच आफ्ना निकटस्थलाई गभर्नर बनाउन खोज्दा प्रक्रिया लम्बिएको हो।
कानुनतः गभर्नर अवकाश हुनुभन्दा एक महिना पूर्व नै नियुक्ति गर्नुपर्ने हो। तर निवर्तमान गभर्नर महाप्रसाद अधिकारी बाहिरिएको महिना दिन बढी भइसक्दा पनि नेताहरू गभर्नर नियुक्तिमा आलटाल मात्र गरिरहेका छन्।
यसअघि नै राष्ट्र बैंककै कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई नयाँ गभर्नर बनाउन कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी ओलीबीच पटक-पटक सहमति बनेको थियो। सोही सहमतिका आधारमा भट्टलाई गभर्नर छनोट समितिको बैठक राखेर गभर्नर नियुक्तिका लागि सिफारिस गर्न देउवाले अर्थमन्त्रीलाई सुझाव दिएको स्रोतले जनाएको छ। तर नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले मानेनन्।
पछिल्लो समय गभर्नर नियुक्तिकै कारण सत्तारुढ दलबीच तिक्तता बढेको अनुमान भइरहेका बेला देउवाले ओलीका कारण राष्ट्रबैंकको गभर्नर नियुक्तिमा समस्या नभएको स्पष्ट पारेका छन्। मंगलवार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘विद्यमान आर्थिक परिवेशमा बजेटले समेट्नुपर्ने नीति’ विषयक संवाद कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन्।
राष्ट्र बैंकभित्रकै समस्याको कारण गभर्नर नियुक्तिमा ढिलाइ भएको उनको भनाइ छ। उनले प्रधानमन्त्री ओली गभर्नर कांग्रेसलाई दिने पक्षमा रहेको स्पष्ट पारे। उनले सत्ता गठबन्धनमा समेत कुनै समस्या नभएको दाबी गरेका छन्।
उनले प्रधानमन्त्री ओली गठबन्धनभित्र कुनै समस्या नरहेको बताए। उनले वर्तमान निर्वाचन प्रणालीमा कुनै पनि पार्टीको एकल बहुमत आउन गाह्रो रहेको बताए।
