काठमाण्डौं। आज कक्षा १२ को यसवर्षको परीक्षाको पहिलो दिन अर्थात् अंग्रेजी विषयको परीक्षाको दिन। आज बिहानै एउटा हल्ला फैलियो, काठमाडौँकै एक परीक्षा केन्द्रबाट प्रश्नपत्र बाहिरियो। भक्तपुरको सोही केन्द्रका विद्यार्थीले तोकिएको समयभन्दा अगावै प्रश्न पत्र पाएको दाबी गरेका थिए। यही हल्लापछि सोही केन्द्रमा अनुगमन पनि भयो। तर, हल्लाले ठूलो रूप लिएपछि राष्ट्रिय परीक्षा बोर्डले त्यसको खण्डन गर्यो। बोर्डले एक प्रेस विज्ञप्ति जारी गर्दै आज सञ्चालित अनिवार्य अङ्ग्रेजी विषयको प्रश्नपत्र परीक्षा सुरु हुन अगावै निश्चित विद्यालयका विद्यार्थीहरूले प्राप्त गरेको भनी सामाजिक सञ्जालमा राखिएको सूचना भ्रामक र गलत भएको जनाएको छ । साथै परीक्षाजस्तो संवेदनशील विषयमा सामाजिक सञ्जालमा पुराना र प्रयोग भइसकेका प्रश्नपत्र राखी भ्रम सिर्जना गर्नेमाथि कानुनी कारबाही गर्न बोर्डले सम्बन्धित निकायमा सूचनासमेत पठाएको जनाएको छ। सामाजिक सञ्जालमा सम्प्रेषण भएका यस प्रकारका गलत सूचनामा विश्वास नगर्न र आगामी दिनमा पनि यस्ता भ्रामक सूचनाको विश्वास नगरी आफ्नो अध्ययन कार्यलाई निरन्तरता दिन पनि बोर्डले अनुरोध गरेको छ ।
