बिरमान हरेक बिहान झिसमिसे हुनु अगावै काँधमा हलो राखेर एउटा हातमा फरुवा अनि अर्को हातमा चिराक समाई आफ्नो पसिना जोतेर सन्तुष्टि उमार्न झर्ने गर्छ बेसी ऊ वर्षौं देखि एउटै दौरा र सुरुवालमा दिन गुजार्छ शीरको मयलका छिटाले रङ्गिएको टोपीमा आफ्नो पसिना र माटोको सुगन्धलाई गौरवशाली ठान्छ कोर्ने गर्छ माटोमा देशकाे राष्ट्रिय झण्डा जसलाई अगांलेर निदाउने गर्छ हरदिन र कल्पनाकाे सगरमाथामा लेख्छ आमाकाे नाम । बिरमान मोफसल भन्दा पर एक कुनामा उमार्दै छ सपनाहरू कयौं पटक खालि खुट्टा पत्थरसँग ठोक्किएर छरछरती पैतलाबाट रगत पोखिँदा उसले आमालाई सझिएको देख्छ...... झिलिमिली शहरको रमझमको मजा नलिए पनि वन, पाखा, भञ्ज्याङ, चौतारीसँग मितेरी गाँसेको छ उसले छेउमा टुकी राखेर छोरोलाई देश पढाउँछ अन्धकारमा कान्छीको प्रेम अङ्गाल्दै जुनेलीसँग लजाउने गर्छ ...... । बिरमान घरका भित्तामा स्याली जम्दा पनि कहिल्यै सकस मानेन वर्षातसँग बरू आकाश चम्कँदा मुस्कुराउँदै सपनाकाे तस्वीर लिन्छ मध्यरातमा जूनकाे उज्यालाेमा रमाउँदै तारासँग सेल्फी हान्ने रहर गर्छ तर माेबाइल हुँदैन बिरमानसँग उ छमछमति नाँच्छ चट्याङकै आक्रोशमा पनि उसको जिब्रोले फाइभ स्टार होटेलको खाना चाखेको छैन बरू बर्षातमा झरीले चुटेका निस्ताे भातका सिता टिप्दै ऊ अघाएको छ उसलाई कहिलै फुर्सद भएन कसैको गुनासो र चाप्लुसी गर्न उसलाई कहिलै रहर लागेन हातभरि रुपैयाँ गनेर ऐस/आराम गर्न ऊ त अनाज गन्दागन्दै नतमस्तक बनेको छ आफ्नै पौरखमा । बिरमान माटोसँग बेहद प्रेम गर्छ ..... ऊ छातीमा देश , पाखुरामा सामर्थ्य काँधमा जिम्मेवारी बोकेर बबुरो चेहरा लिई गुमनाम भई बाँचिरहेको एक कर्मठ देशभक्त हो ऊ आधुनिकतालाई नकार्छ र आदिमलाई स्वीकार गर्दै आफ्नै पौरखमा गौरव गर्दै सकसपूर्ण जिन्दगी बाँचिरहेकाे देख्दा लाग्छ याे देशकाे लाैह पुरुष बिरमान हाे ।
