काठमाण्डौ । नक्कल गर्ने प्रबृत्तिले नेपालमा भाषा संस्कृतिको महत्व घट्दै गएको र भाषा नै लोप हुने अवस्थामा पुगेको भन्दै साहित्यकारहरुले चिन्ता व्यक्त गरेका छन् । भाषा संस्कृतिको संरक्षण र विकासमा सरकारी तथा गैरसरकारी क्षेत्रबाट पहल हुनुपर्नेमा उनीहरुले जोड दिएका छन् । राप्ती साहित्य परिषद्को २५ औं वार्षिक साधारणसभा तथा १५ औं अधिवेशनको अवसरमा पुरस्कार वितरण तथा लुम्बिनी प्रदेश स्तरीय भाषिक तथा सांस्कृतिक संगोष्ठी कार्यक्रममा भाषा र संस्कृतिको संरक्षणमा सरोकारवालाको भूमिका विषयक कार्यक्रममा वक्ताहरुले यस्तो चिन्ता व्यक्त गरेका हुन् । राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष टीकाराम उदासीको अध्यक्षता एवं नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा। धनप्रसाद सुवेदीको प्रमुख आतिथ्यता र राप्ती साहित्य परिषद्का संस्थापक अध्यक्ष नारायणप्रसाद शर्माको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि सुवेदीले नेपालको भाषा संस्कृति आयातित संस्कृतिको मारमा परेको उल्लेख गर्दै लोप हुने अवस्था सिर्जना भएको बताउनुभयो । ‘मोबाइलमार्फत् बाहिरबाट आएका कुराले मौलिक संस्कृति लोप हुँदै जान थाले, विकृति भित्रिदैछ’– उहाँले भन्नुभयो– ‘मातृभाषा मात्रै होइन नेपाली भाषाकै भविष्य के भन्ने बेला आयो ।’ भाषा संस्कृति संरक्षणमा विशेष ध्यान दिने बेला आएको बताउँदै उहाँले भाषा संस्कृति कला साहित्यको संरक्षण र विकास गर्न सबै मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो । तीनै तहका सरकारलाई अधिकार बाँडफाँडमा भाषा संस्कृतिको संरक्षणमा अहं भूमिका दिएको र त्यसमा पनि स्थानीय सरकारलाई थप अधिकार रहेकोले सरकारले पनि यसमा ध्यान दिनुपर्ने उहाँको भनाइ थियो । उहाँले यस क्षेत्रमा राज्यले लगानी थप गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रमका विशिष्ट अतिथि एवं राप्ती साहित्य परिषद्का संस्थापक अध्यक्ष नारायणप्रसाद शर्माले लामो लडाईंले प्राप्त गरेको शान्ति र परिवर्तनको रक्षाका लागि साहित्यकारले कलम चलाउनुपर्नेमा जोड दिनुभयो । ‘राजनीतिक परिवर्तन छिटो भए पनि सांस्कृतिक, सामाजिक, आर्थिक परिवर्तन विस्तारै हुन्छ, यसमा साहित्यकार तथा कलमजीवीको भूमिका रहन्छ’– शर्माले भन्नुभयो– ‘साहित्यकारको लेखनशैली शुभकामना शैली मात्रै भयो । पहिले परिवर्तनका लागि लडेका साहित्यकारको जस्तो जोश अहिले देखिएन नत्र धेरै परिवर्तन भइसक्थ्यो ।’ उहाँले मानवमा मानवता जगाउन र शान्ति र समृद्धिका लागि पनि साहित्यकारको भूमिका महत्वपूर्ण हुने बताउदँै सबैले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । कुशासन र भ्रष्टाचारले नेपाल विश्वमै बदनाम हुने अवस्थामा पुगेको भन्दै साहित्यकारले सुधार ल्याउने गरी कलम चलाउनुपर्नेमा उहाँको जोड थियो । नेपाल प्रज्ञा प्रतिष्ठान र राप्ती साहित्य परिषदको संयुक्त आयोजनामा भएको लुम्बिनी प्रदेशस्तरीय भाषिक तथा सांस्कृतिक संगोष्ठीमा लुम्बिनी प्रदेशको भाषिक अवस्थाको बारेमा डा। कृष्णराज सर्वाहारी र लुम्बिनी प्रदेशको सांस्कृतिक अवस्थाको बारेमा प्राडा। गितु गिरीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमाथि डा। प्रेम योगी र प्राडा शिवकुमार सुवेदीले टिप्पणी गर्नुभएको थियो । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वपरिषद् सदस्य प्राडा गोपिन्द्र पौडेल, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासन, साहित्यकारहरु भुपेन्द्र मल्ल, कर्णबहादुर बुढा, प्राडा बाबुराम आचार्य, डा। कपिलमणि लामिछाने, परिषद्का सल्लाहकार उत्तमकृष्ण मजगैयाँ, जिल्ला शाखाको तर्फबाट रुकुम पश्चिमका अध्यक्ष मनलाल वली, सर्वोदय पुस्तकालय तथा वाचनालयका अध्यक्ष सुशील गौतम, दाङ साहित्य तथा सांस्कृतिक मञ्चका अध्यक्ष डिल्लीराज श्रीधर, परिषद्का सल्लाहकार एवं पुरस्कार छनोट समितिका संयोजक पुरुषोत्तम खनाललगायतले परिवर्तनमा साहित्यकारको भूमिका महत्वपूर्ण रहेकोमा जोड दिनुभएको थियो । सोही अवसरमा प्राडा गोपिन्द्र पौडेलले आफ्नो बुवाआमाको सम्झनामा ईश्वरी बिना राष्ट्रिय वाङ्मय पुरस्कारको लागि पाँच लाख रुपैयाँ राशीको अक्षयकोष स्थापना गर्न चेक हस्तान्तरण गर्नुभएको थियो । शनिबारसम्म चल्ने कार्यक्रममा अक्षयकोष स्थापनाकर्ता थप बढ्ने आयोजकले जनाएको छ । राप्ती साहित्य परिषद्का बरिष्ठ उपाध्यक्ष कमलमणि देवकोटाको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण महासचिव रमेश सुवेदीले गर्नुभएको थियो । शनिबार परिषद्को साधारण सभा तथा अधिवेशन हुँदैछ । २४ बढी स्रष्टा पुरस्कृत राप्ती साहित्य परिषद्ले २०८१ सालको राप्ती साहित्य पुरस्कार दाङका प्राध्यापक डा। बाबुराम आचार्यलाई प्रदान गरेको छ । २०८० सालमा प्रकाशित १८ थुङगा नामक जीवनी विधाको कृतिका लागि दाङका पद्मप्रसाद शर्मालाई राप्ती साहित्य सिर्जना पुरस्कार प्रदान गरिएको हो । यस्तै नन्दहरि साहित्य पुरस्कार दाङका सुरेशकुमार पाण्डेयलाई, डोमादेवी साहित्य पुरस्कार दाङका शशिधर भण्डारीलाई, दीलसरी दल अतिरिक्त साहित्य पुरस्कार रोल्पाका मोहित श्रेष्ठलाई पुरस्कृत गरिएको छ । यसैगरी देवीचन्द्र साहित्य पुरस्कार बाँकेका डा। हरिप्रसाद तिमिल्सिनालाई, अपामुकुन्द प्रज्ञा पुरस्कार प्युठानका नारायण गौतमलाई, गोपाल चन्द्र प्रज्ञा पुरस्कार दाङका हरिप्रसाद पाण्डेयलाई, हरिप्रसाद मीना पाण्डेय कला साहित्य पुरस्कार दाङका केबी चौधरीलाई, खोबिलाल हुकुमादेवी छन्द पुरस्कार दाङका गिरिराज खनाललाई प्रदान गरिएको छ । यसैगरी दाङका अभि क्षेत्री समर्पणलाई पद्मप्रसाद रुपसा प्रज्ञा पुरस्कार, बुटबलका प्रा। डा। कपिल लामिछानेलाई तिलका तुलसीराम आचार्य स्मृति पुरस्कार, दाङका कपिलकिशोर घिमिरेलाई चक्रपाणि लोकेश्वरी छन्द पुरस्कार, प्युठानका सुमन सुवेदीलाई नित्यानन्द प्रज्ञा पुरस्कार, दाङ देउखुरीका यादवनाथ योगीलाई चन्द्रमधु गीत संगीत पुरस्कार, रुकुम पश्चिमका भुपेन्द्रा मल्ललाई ओपेन्द्र रत्नशोभा साहित्य पुरस्कार र रोल्पाका अमर अधिकारीलाई प्रेमनारायण सावित्रा हेमकुमारी प्रज्ञा पुरस्कार प्रदान गरिएको छ । त्यस्तै रुकुमपूर्वका कर्णबहादुर बुढा मगरलाई श्रीबहादुर दीलमाया साहित्य पुरस्कार, बाँकेका महानन्द ढकाललाई टेकबहादुर सुवर्ण राजभण्डारी साहित्य पुरस्कार, सल्यानका हिरालाल केसीलाई जीवनचक्र साहित्य पुरस्कार दिइएको छ भने पं। कपिलमुनि भक्तकुमारी शिवादेवी स्मृति स्रष्टा सम्मान सल्यानकी बिनु बुढाथोकीलाई दिइएको छ । यस्तै पश्चिम रुकुमका खेमराज खड्कालाई ऋषि लक्ष्मी साहित्य पुरस्कार, दाङकी दीपा बुढालाई गोमादेवी स्मृति कला पुरस्कार र विष्णुनुमा साहित्य पुरस्कार दाङका मनिषा गिरी ‘ऋतु’लाई दिइएको छ । यसैगरी दाङ साहित्य तथा संस्कृति प्रतिष्ठान तुलसीपुर, कवि धर्मराज बैरागी देउखुरी, साहित्यकार मधुसूदन गौतम दाङ र नारी श्रष्टा बसन्ता शाह हापुरलाई सम्मान गरिएको छ । राप्ती साहित्य परिषद्का वरिष्ठ उपाध्यक्ष एवं छनोट समिति सदस्य कमलमणि देवकोटाले पुरस्कृत स्रष्टाहरुको प्रतिभा परिचय दिनुभएको थियो । परिषद्को पुरस्कार प्रतिभा छनोट समितिका संयोजकमा पुरुषोत्तम खनाल हुनुहुन्थ्यो ।
