काठमाडौँ । साँगुरीगढी गाउँपालिका- ६ नमस्ते झरनास्थित कोशी लोकमार्गमा धनकुटाबाट धरानतर्फ जाँदै गरेको एउटा कार सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन वेश मुलघाटको चेक प्वाइन्टको चेकजाँचको क्रममा भाग्यो । बुधबार बिहान को २ प १७३४ नम्बरको कार भागेपछि अनियन्त्रत भै दुर्घटना भएको अवस्थामा भेटिएको छ । शंका लागि पिछा गर्दैगर्दा उक्त कार गति अनियन्त्रित भई भित्तामा ठोक्किएर दुर्घटना भएको अवस्थामा भेटिएको सशस्त्र प्रहरीले जनाएको छ । दुर्घटनापछि चालक फरार भएको अवस्थामा नियन्त्रणमा लिइएको सो कारबाट १२ वटा पोकामा प्याक गरिएको अवस्थामा ४ सय २१ किलो गाँजा फेला परेको छ । सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार कार र बरामद गाँजा थप कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको छ ।
