Comments Add Comment

फोनिजको अध्यक्षमा लक्की चौधरीको दाबी

काठमाण्डौ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को अध्यक्षमा लक्की चौधरीले दावी गरेका छन् । महासंघका वरिष्ठ उपाध्यक्ष चौधरीले अध्यक्षमा दावी गर्दै भने- 'तराई–मधेसबाट अहिलेसम्म फोनिजको नेतृत्वमा कोही आएन, त्यो अवसर दिईएन, त्यसैले यो महाधिवेशनमा आफूले अध्यक्षको दावी गरेको हुँ ।'

आदिवासी जनजाति पत्रकारहरुको साझा संस्था नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को  आठौं संघीय महाधिवेशन चैत २९ र ३० गते लुम्बिनीमा हुन गइरहेको सन्दर्भमा उनले आफ्नो उमेद्वारी घोषणा गरेका हुन् । 

फोनिज संघीय महाधिवेशनको तयारी करिब पूरा भएको महासचिव समीर बलामीले बताए। महाधिवेशनमा पाँचसय प्रतिनिधि तथा पर्यवेक्षकको सहभागिता रहने बताईएको छ ।

६६ जिल्लामा समिति रहेको फोनिजमा आठ जातीय पत्रकार संगठन आवद्ध छन् भने आठ विदेश शाखा समेत रहेको छ भने साढे चार हजार आदिबासी जनजाति पत्रकार आवद्ध छन् ।

 

२०५६ साउन २७ गते नेपाल आदिबासी जनजाति पत्रकार संघ (अनिज)को रुपमा स्थापना भएको संस्था २०७०मा फोनिजमा रुपान्तरण भएको थियो । आठ जातीय पत्रकार सम्बद्ध फोनिजमा मगर, थारु, गुरुङ, शेर्पा, तामाङ, नेवाः, राई र लिम्बु पत्रकार संघ आवद्ध छन् ।

फोनिजको नेतृत्व अहिलेसम्म राई, गुरुङ र तामाङले गरिसकेका छन् । संस्थापक अध्यक्ष चन्द्रसिंह कुलुङ राईले दुई कार्यकाल, खिम घलेले एक कार्यकाल नेतृत्व गरेका थिए। घलेको नेतृत्वपछि मोहनसिंह लामाले एक कार्यकाल फोनिजको नेतृत्व गरे भने डण्ड गुरुङले दुई कार्यकाल फोनिजको नेतृत्व गरेपछि हाल गजुरधन राई फोनिजको नेतृत्व छन् ।

लुम्बिनीमा हुने आठौं महाधिवेशनले ५३ सदस्यीय संघीय समिति गठन गर्नेछ । फोनिजमा अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित पाँच उपाध्यक्ष, महासचिव, पाँच सचिव, कोषाध्यक्ष र सहकोषाध्यक्ष गरी १५ सदस्यीय पदाधिकारी रहने व्यवस्था छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ