Comments Add Comment

‘मुटु स्वस्थ बनाउन तपाईँ, हामी बिहान-बिहान हिँडनैपर्छ।’

देउखुरी । सार्वजनिक बगंैचामा तरकारीको किनबेच चलिरहेको थियो । तरकारी किनबेचका लागि छुट्टै स्थान नहुँदा किसानले यहाँ बजार लगाउँदै आएका छन् । तर यही बीचमा यहाँ तरकारी खरिद बिक्री गर्ने भन्दा बेग्लै मानिसहरुको संख्या बढ्दै गयो । बालबालिका, विद्यार्थी, किशोरकिशोरीदेखि बयस्क र पाका पुस्ता सबै उमेर समूहका मानिसहरु भेला हुँदै गए । यी सबै मानिस बिहानीको हिडाइका लागि जम्मा भएका थिए । दृष्टिविहीन, अपांगता भएका व्यक्ति र पञ्चकन्याहरु पहिलो पंक्तिमा लागेर हिंडाइ अघि बढ्यो । जुन हिँडाइको मुख्य केन्द्रमा हुनुहुन्थ्यो डाक्टर किशोर खत्री । डाक्टर खत्रीले एक्लै शुरु गरेको यो अभियान सबैको अभियान बन्न पुगेको छ ।

स्वस्थ जीवन यापनकालागि बिहानको हिँडाई अभियानले तिब्रता पाएको छ । दाङबाट शुरु भएको अभियान देशका विभिन्न स्थानमा पुगेको छ । बिहानको हिँडाइ मानव स्वास्थ्यका लागि उपयुक्त र आवश्यक रहेको जनचेतनासहित अभियानले तिब्रता पाएको हो । तुलसीपुर निवासी डाक्टर खत्री बाल रोग विशेषज्ञ हुनुहुन्छ । पछिल्लो समय उहाँको नेतृत्वमा शुरु भएको बिहानको हिँडाइ अभियान राष्ट्रियस्तरमा चर्चाको विषय बन्न पुगेको हो । कुनै समय डाक्टर खत्री एक्लै हिँडेर शुरु भएको अभियानले सयौं मानिसलाई एकसाथ हिँडाउन सफल भएको छ । पूर्वप्रधानमन्त्रीदेखि बहालवाला स्वास्थ्य मन्त्रीसम्मलाई जोडेको अभियान अहिले हरेक शहरमा केन्द्रित हुन थालेको हो । तुलसीपुरबाट प्रारम्भ भएको अभियान नेपालगञ्ज हुँदै लमहीमा केन्द्रित भएको छ । ‘स्वस्थ समाज हाम्रो चाहना, बिहानीको हिँडाइ हाम्रो साधना’ मूल संकल्पसहित बिहानको हिँडाइ गरिएको छ । ‘तपार्इंको मुटु स्वस्थ बनाउन बिहान हिँडनैपर्छ । मस्तिष्क स्वस्थ बनाउन पनि बिहानको हिँडाइ गुणकारी छ’– उहाँले भन्नुभयो– ‘विश्व जगतलाई नै बिहानको हिँडाइमा अघि बढाउन संकल्प गरेको छु । यो अभियान सबैको हो ।’

लमही नगरपालिकाका प्रमुख जोगराज चौधरी, उपप्रमुख लक्ष्मी योगी, लुम्बिनी प्रदेश सभाका पूर्वसदस्य रेवतीरमण शर्मा, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा सामाजिक संघ–संस्थाको सहभागितामा लमहीमा बिहानको हिँडाइ गरिएको छ । पञ्चकन्या, दृष्टिविहीन र अपांगता भएका व्यक्तिलाई पहिलो पंक्तिमा सहभागी गराएर अभियान अघि बढाइएको हो । स्वस्थ समाज निर्माण गर्न अभियान सफल भएको नगर प्रमुख जोगराज चौधरीले बताउनुभयो ।

‘पन्चतत्वले बनेको यो हाम्रो शरीरलाई स्वस्थ बनाइराख्न हिँडाइ जरुरी छ’– उहाँले भन्नुभयो– ‘मानिस व्यस्त हुँदै जाँदा शारीरिक कामहरु घट्दै गए । रोगले च्याप्दै लगेको छ । यस्तो अवस्थामा हिँडाइ आवश्यक पर्छ ।’

लायन्स क्लव अफ लमहीको सहकार्यमा लमहीमा बिहानको हिँडाइ कार्यक्रम राखिएको थियो । बिहानको हिँडाइले मुटु, मस्तिष्क मात्रै नभई मानिसको मानसिक तथा शारीरिक स्वास्थ्यलाई सन्तुलनमा राख्ने भएकाले यो अभियानमा सबैको सहभागिता बढ्दै गएको छ । लायन्स क्लव अफ लमहीका अध्यक्ष सहना श्रेष्ठको अध्यक्षता तथा नगर प्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । सञ्चालन क्लवका सचिव लोकमान रिजालले गर्नुभएको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ