काठमाण्डौँ। आन्दोलनरत नेता साथै अध्यक्ष कमल थापा समेत पक्राउ परेपछि राप्रपा नेपालले सरकारप्रति कडा शब्दमा निन्दा गरेको छ।
पार्टीका महामन्त्री राजाराम बर्तौलाद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा आइतबार काठमाडौंमा आयोजित प्रदर्शनमा राज्य संयन्त्रले बर्बरतापूर्वक बल प्रयोग गर्दै थापालगायत नेताहरूलाई पक्राउ गरी लोकतान्त्रिक मूल्य, मान्यता र संवैधानिक अधिकारको उल्लंघन गरेको भनिएको छ।
राप्रपा नेपालले यस घटनालाई ‘अप्रजातान्त्रिक, निरंकुश, सर्वसत्तावादी र हिंस्रक शैली’को संज्ञा दिएको छ। नेपालको संविधानले दिएको विचार तथा अभिव्यक्तिको स्वतन्त्रता र संघसंस्था खोल्ने अधिकारमाथि राज्य आफैँले प्रहार गरेको आरोप उसले लगाएको छ।
‘संविधानको धारा १६, १७, २६९, र २७० अनुसार नागरिकलाई सम्मानपूर्वक बाँच्न, बोल्न, र संगठन खोल्न पाउने अधिकार छ। राज्यले यी अधिकारमाथि अतिक्रमण गरी गम्भीर संवैधानिक उल्लंघन गरेको छ’, बर्तौलाले भनेका छन् ।
