Comments Add Comment

राप्रपाका सांसद, आन्दोलनमा पनि सहभागी हुने,  संसद भवन पनि पुग्ने

काठमाण्डौं।  राजावादी समूहले बिहीबार राजधानीको शान्तिबाटिका क्षेत्रमा तय गरेको आन्दोलनमा राप्रपाका सांसदहरू केहीबेर मात्रै सहभागी हुने भएका छन् । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ नेता पशुपति शमशेर राणा, उपाध्यक्ष बुद्धिमान तामाङ, प्रवक्ता ज्ञानेन्द्र शाहीलगायतका नेताहरू आन्दोलनमा केहीबेर सहभागी भएर संसद बैठकमा सहभागी हुने भएका हुन् । 

संसदीय दलका प्रमुख सचेतक समेत रहेका ज्ञानेन्द्र शाहीले आफूहरू आन्दोलनका साथै संसद बैठकमा पनि सहभागी हुने बताए । 

राप्रपा समेत सहभागी राजावादी समूहको आन्दोलन दिउँसो २ बजेदेखि सुरु हुँदैछ । तर, ३ बजेदेखि संघीय संसदमा आर्थिक वर्ष २०८२र०८३ को बजेट भाषण हुनेछ । सोही बजेट भाषणमा सहभागी हुनका लागि पार्टीका सांसदहरू बीचमै आन्दोलन छाडेर संसद बैठकमा सहभागी हुन लागेका हुन् । 

‘हाम्रो सहभागिता वारिपारि नै रहन्छ । आन्दोलनमा केहीबेर सहभागी भएर बजेट भाषण पनि सुन्न जान्छौँ’, शाहीले भने । प्रतिनिधिसभामा राप्रपाका १४ जना सांसद छन्। राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले संसदीय मोर्चामा रहेका नेताहरू ३ बजेअघिसम्म आन्दोलन सहभागी हुने र त्यसपछि संसदमा जाने बताए । त्यसपछि सांसद नरहेका नेताहरूको कार्यक्रममा सहभागिता रहने उनको भनाइ छ । 

वर्तमान व्यवस्थाको विरोधमा राजावादीले ‘संयुक्त जनआन्दोलन समिति’को अगुवाइमा बिहीबारदेखि आन्दोलन सुरु गरेका हुन् । समितिमा राप्रपा, राप्रपा नेपालसहितका राजावादी तथा हिन्दुवादी संघसंस्थाहरु रहेको राप्रपाका प्रवक्ता सगुन लावतीले जानकारी दिए । हिन्दुराष्ट्र र राजसंस्थाको पुनर्स्थापना, संघीयताको खारेजी, भ्रष्टाचारको अन्त्यलगायतको माग राखेर अनिश्चितकालीन आन्दोलन गर्न लागिएको उनको भनाइ छ । 
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ